INSEC Online

📅 २०८३ जेष्ठ २१

चार महिनामा दुई दिनमात्र भत्ता बाँड्ने बुझेर भत्ता लिन आएका ज्येष्ठ नागरिकलाई सास्ती

चार महिनामा दुई दिन मात्र सामाजिक सुरक्षा भत्ता वितरण हुने भन्ने सूचना बुझेपछि भत्ता लिन आएका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको गुनासो गरेका छन् ।

सरकारले बैङ्किङ् प्रणालीमार्फत सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि र बैङ्कले दुई दिन मात्रै वितरण गर्ने भन्ने सूचना ज्येष्ठ नागरिकले बुझेपछि भत्ता लिन आएका ज्येष्ठ नागरिकले सास्ती व्यहोर्नुपरेको गुनासो गरेका हुन् ।

ज्येष्ठ नागरिक शोरदराम थापाले भत्ता लिन टाढाबाट आउनुपर्ने र आइसकेपछि पनि निकै लामो लाइनमा बस्नुपर्ने हुँदा आफूहरूलाई समस्या भएको जानकारी दिनुभयो ।

सरकारले ज्येष्ठ नागरिकलाई बैङ्किङ् प्रणालीमार्फत भत्ता दिन सुरू गरेपछि भत्ताको सुरक्षा भएपनि टाढाबाट भत्ता लिन सदरमुकाममा रहेको बैङ्कसम्म पुग्दा आफूहरूलाई समस्या भइरहेको उहाँको भनाई थियो ।

सबै स्थानीय तहले ज्येष्ठ नागरिकको सूची प्रत्येक तीन महिनामा अपडेट गर्ने र एकै चोटि भत्ता लिन बोलाउँदा बैङ्कमा भिडभाड हुने गरको छ ।

photo20210421rukumwest

ज्येष्ठ नागरिकको लागि भत्ता जम्मा गरिने बैङ्क सबै स्थानीय तहमा उपलब्ध नहुँदा पनि समस्या भएको स्थानीय तहहरूले जनाएका छन् ।

नेपाल बैङ्क लिमिटेड रुकुम शाखाका प्रमुख शसीराम केसीले ज्येष्ठ नागरिकलाई भत्ता लिने समय र प्रक्रियाका बारेमा सरोकारवालाले तथ्य जानकरी नगराउँदा यस्तो समस्या आएको बताउनुभयो ।

ज्येष्ठ नागरिकले पाउने रकम खातामै सुरक्षित हुने र सो रकम अनुकूलताका आधारमा जहिले लिए पनि हुने भन्ने कुरा ज्येष्ठ नागरिकलाई बुझाउनुपर्ने आवश्यक देखिएको उहाँको भनाई छ ।

मुसीकोट नगरपालिकाका प्रशासकीय अधिकृत नरवीर खड्काले ज्येष्ठ नागरिकको खातामा भत्ता जम्मा गर्दा भत्ता सुरक्षित हुने भएकाले खातामा नै राखिदिने गरेको बताउनुभयो ।

ज्येष्ठ नगरिकले भत्ता जुनसुकै बेला झिकेपनि हुने कुराको जानकारी गराउन नसकेको उहाँले स्वीकार गर्नुभएको छ ।

अन्य

भिडियो