INSEC Online

📅 २०८३ जेष्ठ २२

सञ्चार गृह भित्र प्रवेश गरी पत्रकारमाथि कुटपिट, आरोपित विरुद्ध प्रहरीमा उजुरी

लम्की चुहा नगरपालिका—१ टिकापुर रोडस्थित रेडियो रेडस्टार एफएमका समाचार प्रमुख मदन शाही र प्रबन्धक निर्देशक बसन्त जैसीलाई सोही ठाउँका ३७ वर्षीय टेकराज कठायत लगायतका नौ जनाले वैशाख ५ गते साँझ कुटपिट गरेका छन् ।

आफूमाथि कुटपिट तथा एफएम कार्यालय तोडफोड गरेको भन्दै पीडितहरुले आरोपित टेकराज कठायत लगायतका नौ जना विरुद्ध इलाका प्रहरी कार्यालय, लम्कीमा वैशाख ६ गते उजुरी दिएका छन् ।

टेकराज कठायत लगायत नौ जनाको समुहमा आएका व्यक्तिहरु कार्यालय भित्रै प्रवेश गरी आफूहरुमाथि कुटपिट गर्नुको साथै कार्यालय तोडफोड गरेको रेडस्टार एफएमका समाचार प्रमुख पदन शाहीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिटबाट टाउको र गर्धनमा चोट लागि घाइते भएका एफएमका प्रबन्धक निर्देशक बसन्त जैसीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको समाचार प्रमुख शाही बताउनु भयो ।

आरोपितहरु फरार रहेकाले प्रहरी परिचालन गरी खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीका इन्स्पेक्टर नरेन्द्र भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पत्रकारलाई कुटपिट गर्ने व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी कार्वाहीको माग गर्दै  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश शाखा, नेपाल पत्रकार महासंघ, कैलाली र नेपाल प्रेस युनियन, कैलालीले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

अन्य

भिडियो