INSEC Online

📅 २०८३ जेष्ठ २२

सल्यानका ९ हजार ७ सय परिवार खानेपानीको पहुँचबाट वञ्चित

सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ४६ हजार ३ सय परिवारमध्ये ३६ हजार ६ सय परिवारले मात्र खानेपानी सुविधा पाइरहेका छन् ।

सल्यानको बनगाडकुपिण्डे नपास्थित मैदुका १ सय ५० परिवार खानेपानीको पहुँचबाट बञ्चित छन् । साविक जिल्ला विकास समितिले २०६० सालमा सञ्चालन गरेको खानेपानी योजना १७ वर्षसम्म अलपत्र परेपछि मैदुका स्थानीयबासी खानेपानीको पहुँचबाट टाढा भएका हुन् ।

Photo2021-04-13 Salyan

गाउँमा खानेपानी नहुँदा घण्टौ पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले सास्ती भएको मुलखोलाकी दिलमाया खत्रीले गुनासो गर्नुभयो । दैनिक तीन घण्टा पैदल हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले वर्षौदेखि आधा राति मै उठेर पानी भर्नुपर्ने बाध्यता भएको बताउनुभयो ।

स्थानीयबासी दिलमायाका अनुसार खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेका छन । खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् उहाँले भन्नुभयो, जथाभावी दिसापिसाब गर्दा स्वास्थ्यमा समेत समस्या हुने सम्भावना बढी छ ।

खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले खानेपानी अभावका कारण स्थानीयले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी समस्या समाधानको लागि यो वर्ष २२ वटा लिफ्ट र २२ ‘ग्रयाभिटी’ खानेपानी योजना निर्माणाधीन छन् । यस योजनाबाट करिब ५ हजार घरधुरीमा खानेपानी सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो ।

अन्य

भिडियो