१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वालिङ नगरपालिका–९ का १९ वर्षीय मदन माझीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएकाे छ ।
जिल्ला अदालत स्याङजाका न्यायाधीश सुर्यबहादुर थापाको चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १८ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत स्याङजाका श्रेस्तेदार विश्वप्रसाद काफलेले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७६ वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७७ वैशाख ११ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई वैशाख ११ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जेठ ५ गते जिल्ला अदालत स्याङजामा जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरेको थिए ।
जिल्ला अदालत स्याङजाको आदेशले आरोपित जेठ ६ गतेदेखि पुर्पक्षको लागि कारागारमा रहेको जिल्ला अदालत स्याङजाका श्रेस्तेदार काफ्लेले बताउनुभयो ।