विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो । ०७७ चैत ११ गते लकडाउनको घोषणा भएको एक वर्ष पुगेको छ ।
नेपाल सरकारले ०७७ माघ १४ गते पहिलो पटक कोभिड–१९ विरूद्धको भ्याक्सिन कोभिसिल्ड प्राथमिकताका आधारमा लगाउन सुरू गरेको छ ।
प्रदेश १ सरकारले नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै कोभिड–१९ नियन्त्रणका लागि आवश्यक तयारी गरेको थियो ।
प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ०७६ चैत ७ गते प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समिति गठन गरी कोरोना भाइरस नियन्त्रणका लागि प्रतिकार्य गर्दै आएको थियो ।
एक वर्षको अवधिमा प्रदेश १ मा २ लाख २८ हजार ५ सय ४० जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये ३० हजार २ सय ९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ हजार १ सय ६ जना महिला र १९ हजार १ सय ८८ जना पुरूषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
०७६ चैत ११ गतेदेखि ०७७ चैत १० गतेसम्म प्रदेश १ मा कोभिड–१९ सङ्क्रमण भएका २९ हजार ९ सय ७६ जना निको भएका छन् । जसमध्ये १० हजार ९ सय ९२ जना महिला र १८ हजार ८ सय ४४ जना पुरूष रहेका छन् ।
प्रदेश १ मा कोभिड–१९ का कारण ०७७ चैत १० गतेसम्म ३ सय २६ जना पुरूष र १ सय ४० जना महिला गरी ४ सय ६६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा ४ हजार ७ सय १७ जना सङ्क्रमित भएकामा ४ हजार ५ सय ८७ जना निको भएका छन् । झापामा कोभिड–१९ सङ्क्रमणका कारणा १ सय २४ जनाको मृत्यु भएको छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङमा १३ हजार १ सय १५ जना सङ्क्रमित भएकामा १२ हजार २ सय ५६ जना निको भएका छन् । मोरङमा कोभिड–१९ सङ्क्रमणका कारण एक वर्षको अवधिमा १ सय ३२ जनाको मृत्यु भएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार ९ हजार ४० जना सङ्क्रमित भएकामा ८ हजार ८ सय ८७ जना निको भएका छन् । जसमध्ये १ सय ४५ जनाको मृत्यु भएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार २ सय २१ जना सङ्क्रमित भएकामा २ सय ७ जना निको भएका छन् । १२ जनाको मृत्यु भएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार ९२ जना सङ्क्रमित भएकामा सबै जना निको भएका छन् ।
खोटाङ प्रतिनिधि रामधन राईका अनुसार जिल्लामा एक वर्षको अवधिमा ९७ जना सङ्क्रमित भएकामा सबै निको भएका छन् ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार ५ सय जना सङ्क्रमित भएकोमा ४ सय ९१ जना निको भएका छन् । नौ जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार ३७ जना सङ्क्रमित भएकामा सबै जना निको भएका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा एक वर्षको अवधिमा ३ सय ५० जना सङ्क्रमित भएका छन् । जसमध्ये एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार १ सय २४ जना सङ्क्रमित भएकामा चार जनाको मृत्यु भएको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार ४ सय ८३ जना सङ्क्रमित भएकामा सात जनाको कोभिडका कारण मृत्यु भएको छ ।
पाँचथर प्रतिनिधि मङ्गल वेघाका अनुसार १ सय ४८ जना सङ्क्रमित भएकामा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा एक वर्षको अवधिमा १ सय २१ जना सङ्क्रमित भएका दुई जनाको मत्यु भएको छ । ओखलढुङ्गामा ४७ जना सङ्क्रमित भएर निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालन गरेपछि हालसम्म मोरङमा ५३ हजार ९ सय ६५, झापामा ५३ हजार ७ सय ३३, सुनसरीमा ५१ हजार २ सय १५, उदयपुरमा ११ हजार ३ सय ३०, इलाममा १९ हजार ९ सय २३, धनकुटामा १० हजार ६ सय ७५, तेहृथुममा ८ हजार ५ सय ५१, भोजपुरमा १२ हजार १ सय २९, पाँचथरमा १३ हजार ६ सय २९, ताप्लेजुङमा १२ हजार ६ सय ३२, खोटाङमा १२ हजार ४ सय ४९, ओखलढुङ्गामा १८ हजार ५ सय ८५, सोलुखुम्बुमा ११ हजार ५ सय ४१ र सङ्खुवासभामा ८ हजार ९ सय २३ जना गरी २ लाख ९८ हजार ५ सय ८३ जनाले खोप लिएको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी दिएका छन् ।