भिमाद नगरपालिका–१ डुम्रीबेशीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–७ का २३ वर्षीय प्रिन्स थापा र २२ वर्षीय लोकबहादुृर थापालाई गिरफ्तार गरेको छ ।
आरोपितहरुलाई फागुन २९ गते बिहान डुम्रीबेशीबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो ।
डुम्रीबेशीमा आयोजित भलिवल प्रतियोगिताको क्रममा फागुन २८ गते साँझ दुई पक्षबिच विवाद भएको थियो ।
सो विवाद मिलाउने क्रममा प्रहरी टोलीलाई नै आक्रमण गरिएको उहाँले बताउनुभयो ।
घटनामा घाइते हुनुभएका डुम्रीबेशी प्रहरी चौकीका इञ्चार्ज असइ सुरेन्द्र गुरुङको उपचार मणिपाल अस्पताल पोखरामा गरिएको र उहाँको अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले जानकारी दिनुभयो ।
गिरफ्तार गरिएकाहरूलाई इलाका प्रहरी कार्यालय बेलचौतारामा राखिएको र कुटपिटमा संलग्न अन्यकोपनि खोजी भइरहेको उहाँले बताउनुभयो ।