सरकारले कैलालीमा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दै छ । तर, अझैं पनि जिल्लामा २ लाख ५० हजार भन्दा बढी व्यक्ति यो औषधि खानबाट छुटेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण क्षेत्रमा यो अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि उपमहानगरपालिका र नगरपालिकाहरू भने प्रभावकारी बन्न नसकेको जनाएको छ ।
कैलालीमा गत वर्षम्म ८ लाख ४० हजार ४ सय जनालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने लक्ष्य निर्धारण गरिएकोमा ५ लाख ८५ हजार जनाले मात्रै औषधि खाएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मोहनदेव भट्टले बताए ।
कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अझै २ लाख ५५ हजार ४ सय जनाले औषधि खान बाँकी छ ।
नेपालमा अझै ३६ वटा जिल्लामा हात्तीपाइले रोग उन्मुलन भएको छैन । नेपाललाई सन् २०१८ सम्ममा हात्तीपाइलेको जोखिमबाट एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य राखिएको र सन् २०२० सम्म मुलुकबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरि भट्टले हात्तीपाइले रोगविरूद्धको औषधि सेवन गर्दा विभिन्न खराबी हुने, औषधि नेपालमा परीक्षण गर्न पठाएको जस्ता गलत प्रचारका कारण यो अभियान प्रभावकारी बन्न नसकेको बताए ।
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा ६ वर्षम्म प्रत्येक वर्षकम्तिमा ६५ प्रतिशत जनतालाई हात्तीपाइले रोगविरूद्धको औषधि खाने अभियानमा सहभागी गराउनुपर्ने लक्ष्य राखिएको छ ।
कैलालीमा आर्थिक वर्ष२०६९/७० मा ६३ प्रतिशत, ०७०/७१ मा ६१ प्रतिशत, ०७१/७२ मा ६८ प्रतिशत र आर्थिक वर्ष०७२/७३ मा ६४ प्रतिशत जनसङ्ख्यालाई मात्रै समेट्न सकिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ ।