INSEC Online

📅 २०८३ जेष्ठ २१

चिसो छल्न गएका कर्मचारी नफर्किँदा सेवाग्राही मर्कामा

हिमपात र चिसोबाट बच्न भन्दै जिल्ला बाहिर गएका नाम्खा गाउँपालिकामा कार्यरत प्राय कर्मचारी काममा नफर्किँदा सेवाग्राहीलाई समस्या भएको छ ।

कर्मचारी नभएपछि जन्म, मृत्य, बसाई सराई, खाद्यान्न, लगायतका सिफारीस लिनका लागि एक दुई दिन लगाएर गाउँपालिका कार्यालय पुगेका सेवाग्राहीहरू रित्तो हातमा घर फर्कनु परेको नाम्खा गाउँपालिका –३ का पेमा लामाले बताउनु भयो ।

वडा नम्बर ४ यालबाङ्गका स्थानीय छिटुप लामाले आफू बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा जाँदा कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी नभएर सेवा नभएको गुनासो गर्नु भयो । त्यस्तै पठनपाठन गर्न विद्यालयमा पुगेका विद्यार्थीहरूको समय पनि सदुपयोग हुन सकेको छैन ।

गाउँपालिकामा कर्मचारीको न्यून उपस्थिती भएपछि माघ ३ गते गाउँ कार्यपालिकाको बैठकले तीन दिनभित्र कामकाजमा फर्किन पत्राचार गरेपनि नफर्किएको निमित्त कार्यकारी प्रमुख पठन बुढाले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङका अनुसार यालवांग स्वाथ्यचौकीका ८ जनामध्य ६ जना, मुचु स्वास्थ्य संस्थाका ७ जनामध्य ५ जना, लिमि स्वास्थ्य चौकीका ६ जनामध्ये सबै फिर्ता नभएको र खगालगाउँ स्वास्थ्यचौकीका ५ जनामध्ये ३ जना स्वाथ्यकर्मी फिर्ता भएका छैनन् ।

त्यस्तै गाउँपालिका अन्तर्गतका कृषि शाखाका ५ जनामा कोहि पनि नआएको र पशु शाखाका ६ जनामा ५ जना काममा नफर्किएको अध्यक्ष तामाङको भनाइ छ ।  यस्तै नाम्खाका करीब ७ वटा विद्यालयका अधिकांश शिक्षकहरू हालसम्म पनि फिर्ता नभएको अध्यक्ष तामाङले बताउनुभयो ।

अन्य

भिडियो