मायादेवी गाउँपालिका–३ हरहरवाकी एक वर्षीया संगिता यादवको हत्या गरी गाडेको आरोपमा प्रहरीले मृतकका हजुर बुवा ५५ वर्षीय बुद्धिराम यादव, हजुर आमा ४५ वर्षीया राजमती यादव, बुवा २२ वर्षीय राजकुमार यादव, आमा २१ वर्षीया प्रेमा यादव र प्रेमाका साथी लुम्बिनी साँस्कृतिक नपा–९ का २६ वर्षीय प्रदिप चौधरीलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।
प्रहरीको प्रतिवेदन अनुसार मृतककी आमा प्रेमा यादवले फागुन १० गते डोरीले पङ्खामा झुण्ड्याएर छोरीको हत्या गरी आफुले पनि आत्महत्या गर्ने प्रयास गरेकोमा आफन्तले देखेपछि डोरी काटेर उद्धार गरी घटनाका बारेमा कसैलाई नभनेर दानव नदि नजिकै गाडेको जानकारी पाएपछि प्रहरीले उक्त ठाउँमा शव फेला पारेको थियो ।
घटना शङ्कास्पद भएको भन्दै गाउँलेहरूले इलाका प्रहरी कार्यालय, बेथरीमा फागुन १० गते जानकारी गराए पछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
गाडेको अवस्थामा बालिकाको शव भेटिएको र बालिकाको घाँटीमा शङ्कास्पद दाग देखा परेकोले पोष्टमार्टमको लागि शवलाई भीम अस्पताल, भैरहवामा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि भीम अस्पताल, भैरहवामा राखिएको प्रहरीले जनायो ।