INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन जीर्ण भएको कारण विद्यालयमा पठनपाठनमा समस्या

चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ ।

‘विद्यालयमा झ्याल ढोका छैन । जसका कारण हाम्रा बालबालिकाहरू शीतलहरमा काम्दै पढ्न बाध्य छन् भने चैतवैशाख महिनाको हावाहुरीमा कोठाभित्रै सम्म फोहोर पुग्ने हुँदा समस्यामा छन् ।’–अभिभावकहरूको गुनासो छ ।

विद्यालयमा रहेको छानामा खिया लागेर प्वाल भएकाले पानी चुहिएर वर्षायाममा बालबालिकाहरू भिज्दै पढ्नु पर्ने बाध्यता रहेको पनि उनीहरूको गुनासो छ ।

लगातार वर्षा भइरहँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउँछ । मौसम अनुसारको समस्याले गर्दा बालबालिकाहरू विभिन्न फोहोरको कारणबाट विरामी हुने गरेका छन् ।

चिसोबाट निमोनिय लगायतको समस्याले १० जना विद्यार्थीले पढाइ छाडी घरमा नै बस्दै आएका छन् ।

विद्यालयका प्रधानाध्यापक सोनालाल यादवका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा २ सय २५ जना भर्ना भएका बालबालिकामध्ये १ सय ७० जना नियमित विद्यालय आउने गरेका छन् भने ५५ जना कहिलेकँही आउने गर्दछन् र बाँकी १० जनाले पढाइ छाडेका छन् ।

आर्थिक वर्ष ०७६÷०७७ मा भवन निर्माणको मागसहित नगरपालिकासमक्ष योजना पेश गरिएकामा योजना पास भएपनि कोभिड १९ को सङ्क्रमणले सिर्जना गरेको वातावरणका कारण सो योजना कार्यान्वयन गर्न नसकी अन्यत्र रकमान्तर गरी खर्च भएको वडा अध्यक्ष पासवत चौधरीले बताउनु भएको प्रधानाध्यापक यादवले बताउनु भयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा चन्द्रपुर नपा–८ की सदस्य उर्मिलादेवी पासवानले वडा तथा नगरपालिकामा यस विषयमा पटकपटक जानकारी गराएको बताउनु भयो ।

चन्द्रपुर नपा–८ का वडा अध्यक्ष पासवत चौधरीले गत वर्षकै योजना अनुसार विद्यालय व्यवस्थापनको लागि ९ लाख रुपियाँ बजेट राखिएको र अब छिट्टै कार्य सुचारु हुने बताउनु भयो ।

२५ वर्षीय स्थानीय देवानन्द पासवानका अनुसार उक्त विद्यालय पहिला देखि नै प्राथमिकतामा नपरेकाले यो अवस्था आएको हो ।

अन्य

भिडियो