सिलिचोङ गाउँपालिका–३ साप्तेलका पहिरो तथा भूकम्प पीडित १३ ओटा परिवारले लाल पुर्जा पाएका छन् ।
पहिरोबाट घरजग्गा गुमाएका सिलिचोङ गाउँपालिका–३ साप्तेलका १३ घरपरिवारलाई साढे १८ रोपनी जग्गा जग्गा प्रदान गरिएको छ ।
पहिरो पीडित १३ परिवारलाई जिल्ला आयोजना कार्यान्वयन इकाइले जग्गा खरिद गरेर माघ २७ गते लालपुर्जा वितरण गरेको हो ।
आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान) को प्राविधिक सहजीकरणमा जोखिम युक्त बस्तीको रूपमा पहिचान भएका पहिरो र भूकम्प पीडितलाई सिलिचोङ गाँउपालिका–३ को मानेडाँडामा जग्गा व्यवस्थापन गरिएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पहिरोबाट जग्गा जमिन गुमाएकाहरूलाई निशुल्क जग्गा उपलव्ध गराएपछि पीडितहरू खुसी भएका छन् ।
१३ परिवारलाई एकीकृत बस्तीको रूपमा व्यवस्थापन गर्ने गरी जग्गा वितरण गरेको गाउँपालिका अध्यक्ष राम कुलुङले बताउनु भयो ।
प्राधिकरणले पहिरो र भूकम्प पीडित परिवारलाई उपलब्ध गराएको जग्गा १० वर्षसम्म बिक्रि वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिएको छ ।
पहिरो तथा भूकम्प पीडित १३ ओटा परिवारलाई प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला पुनर्निमाण सहजीकरण समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यले संयुक्त रूपमा गाउँपालिका अध्यक्ष राम कुलुङलाई जग्गाको धनीपुर्जा हस्तान्तरण गर्नु भएको छ ।
जिल्लामा पहिलो पटक १३ ओटा पहिरो तथा भूकम्प पीडित परिवारलाई २ लाख रुपियाँका दरले अनुदान रकम दिएर सुरक्षित स्थानमा घडेरी खरिद गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ सङ्खुवासभाका प्रमुख नविनकुमार देवले बताउनु भयो ।
जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्ने प्रतिघर २ लाख रुपियाँ सरकारले अनुदान दिँदै आएको छ ।
