१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मङ्गला गाउँपालिका–२ का २३ वर्षीय यामबहादुर थापालाई ५ वर्ष १ महिना कैद सजाय र ५० हजार क्षतिपुर्तिको फैसला गरेको छ ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको २०७७ माघ २८ गतको इजालसले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा ५ वर्ष १ महिना कैद र ५० हजार क्षतिपुर्तिको फैसला सुनाएको श्रेस्तेदार भेषराज पौडेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७६ असोज २६ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०७६ कात्तिक १ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले सरकारी वकिल मार्फत आरोपितविरुद्ध ०७६ कात्तिक २४ गते जिल्ला अदालत म्याग्दीमा जबरजस्ती करणी उद्योग र्शीषकमा मुद्दा दर्ता गरेपछि आरोपितलाई जिल्ला अदालतले कात्तिक २५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।