INSEC Online

📅 २०८३ जेष्ठ २१

शुद्ध खानेपानीबाट वन्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि डडेल्धुराका स्थानीयहरूले आफूहरू शुद्ध खानेपानीबाट वन्चित भएको गुनासो गरेका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा खानेपानीको चरम अभाव हुँदा स्थानीयले समस्या भोग्नु परेको हो ।

गाउँमा पानीका धारा नहुँदा दैनिक एक घण्टा  हिँडेर कुँवाको दुषित पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय दिपक भट्टले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वच्छ खानेपानीको अभावका कारण कुँवाको पानी पिउन बाध्य छौँ । त्यही पानी ल्याउनलाई पनि घण्टौँ हिड्नु पर्ने बाध्यता छ ।’

गाउँमा पीउने पानीको अभाव भएको वर्षौँ बितिसक्दा समेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

खानेपानीका लागि स्थानीयहरुले पटक–पटक सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदा समेत गाउँमा खानेपानी पुग्न नसकेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय रमेश भट्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो – ‘गाउँमा खानेपानीका धारा छन् । तर, धारामा पानी नआउँदा समस्या भएको छ ।’

खानेपानीको जोहो गर्नका लागि आफूहरु बिहानै कुँवामा जानु पर्ने बाध्यता रहेको र ढिलो गरी गएको अवस्थामा कुँवाको फोहर पानी समेत नपाउने अवस्था रहेको स्थानीय कलावति जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘खानेपानीका लागि अनिदो बसेर भएपनि जोहो गर्नु पर्ने अवस्था आएको छ ।’

शुद्ध खानेपानीको अभावका कारण यस क्षेत्रका स्थानीयहरुलाई समस्या भएकाले यसको सामाधानका लागि पालिकाले संघीय सरकारलाई खानेपानीको योजना सिफारीस गरिसकेकाले अर्को आर्थिक वर्षसम्म स्थानीयहरुका घरघरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताउनु भयो ।

अन्य

भिडियो