INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा बालिकाको हत्या, बलात्कारपछि हत्याको आरोप

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बालिका भागरथी भट्टको अज्ञात पक्षद्वारा माघ २१ गते हत्या गरिएको छ ।

माघ २१ गते  विद्यालय गएकी बालिका घर नफर्केपछि खोजी गर्दै जाँदा माघ २२ गते साँझ ५ बजे हत्या गरेर फालिएको अवस्थामा लवलेक जङ्गलमा शव फेला परेको मृतकका आफन्त शिवराज भट्टले बताउनु भयो ।

बालिकाको संवेदनशील अङ्गमा घाउचोट देखिएकाले बलात्कारपछि हत्या गरेको हुनसक्ने पीडित पक्षको आरोप छ ।

बालिकाको हत्या गरिएको जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरीको टोली खटाइएको र आफू पनि  अनुसन्धानका लागि घटनास्थलतर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताउनु भयो ।

बालिकाको कसले र किन हत्या गरेको हो भन्ने विषयमा अहिले एकिन नभएको बताउँदै घटनाको अध्ययन तथा अनुसन्धानमा सहजता होस भन्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइसकिएको डिएसपी अधिकारीले बताउनु भयो ।

घटनाको स्थालगत अध्यायनका लागि इन्सेक प्रतिनिधि नरी बडुको नेत्तृत्वमा पत्रकार र मानव अधिकार सञ्चालका प्रतिनिधिहरुको संयुक्त टोली पनि माघ २३ गते घटनास्थल पुगेको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अधिकारीले बताउनु भयो ।

अन्य

भिडियो