INSEC Online

📅 २०८३ जेष्ठ २१

आमहड्तालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती (प्रदेश २ अपडेट)

प्रतिनिधि सभाको पुनर्स्थापना र संवैधानिक निकायमा सरकारले गरेकोे पदाधिकारी नियुक्तिको विरोधमा नेकपा (दाहाल–नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालका क्रममा प्रदेश २ को धनुषा जिल्लामा प्रर्दशनकारी र प्रहरीबिच जनकपुरको शिव चोकमा झडप भएको छ । बजार बन्द गराउन जकपुरको शिवचोकमा पुगेका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
झडपका क्रममा नेकपा स्थायी कमिटी सदस्य मातृका यादव, पूर्वमन्त्री रामचन्द्र झा, धनुषाको शहीद नगरपालिकाका नगर प्रमुख उदय बरबरीय यादव, हंसपुर नपा–४ का ३० वर्षीय प्रदिप साह, सबैला नपा–२ सबैलाका ५२ वर्षीय कारिराम यादव, जनकपुर उपमहानगरपालिका–६ पेठियागाछीका ५१ वर्षीय उमेशकुमार साह, विदेह नपा–४ ठाडीका ३६ वर्षीय शिवकुमार गोइत, सहिद नपा–५ पचहरवाका ४४ वर्षीय सुरेश कापर घाइते भएका छन् ।
यसैबिच झडपमा सर्लाही जिल्ला रामनगर नपा–१ निवासी जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी जवान ३२ वर्षीय लालबाबु राय घाइते भएका छन् । घाइतेहरूको टाउको र हातमा चोट लागेको छ । घाइते उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो ।
जनकपुरको शिवचोकमा कार्यकर्ताहरूलाई प्रहरीले धरपकड गर्न सुरू गरेपछि रोक्ने क्रममा प्रहरीले लाठी चार्ज गरेको नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झाले बताउनु भयो । घाइते उनको टाउकोमा सात ओटा टाँका लागेको उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।
यसैगरी प्रहरीले धनुषाको सहिद नपा–६ हरबराका २८ वर्षीय अपराजय मण्डल, सहिद नपा–८ बिसरभोराका ५० वर्षीय बिरजु बिराजी, सोही ठाउँका ३० वर्षीय रुपेश बिराजी, सहिद नपा–६ हरबराका ३१ वर्षीय सभाष मण्डल र विदेह नपा–१ ठाडीका २८ वर्षीय रन्जीत पाण्डे लगायतलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय जनकपुरमा राखिएकोमा सोही दिन साँझ रिहा गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक प्रदेश २ कार्यालयका प्रतिनिधिहरूले हामहड्तालको अनुगमन गर्नुका साथै घाइतेहरूलाई भेटी उनीहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
त्यस्तै सवारी आगमनमा अबरुद्ध पुर्‍याएको भन्दै प्रहरीले बारा र पर्सामा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ भने सिरहा र धनुषामा हामहड्ताल सफल बनाउने प्रर्दशनकारीहरूले ढुङ्गामूढा गरी सवारी साधनको शिशा फुटाएको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार विराटनगरतर्फ जाँदै गरेको को १ ख ७६५२ नम्बरको ट्रक माघ २२ गते बिहान लहानमा नेकपा दाहाल–नेपाल पक्षका कार्यकर्ताहरूले ढुङ्गा प्रहार गरी अगाडिको झ्यालका शिशा फुटाएका छन् । घटनामा संलग्न रहेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २८ वर्षीय विवेक परियार र सोही गाउँपालिका–४ का २४ वर्षीय बिराट मण्डललाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले बताउनु भयो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार नेकपा दाहाल–नेपाल पक्षले कलैयाको भरतचोकमा आज बिहान प्रतिनिधि सभा विघटनको विरोधमा सवारी आगमन अवरुद्ध गरी मुख्य सडकमा बसेका आठ जना नेता कार्यक्रतालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा कलैया उपमहानगरपालिका–८ का ४० वर्षीय नगर कमिटी अध्यक्ष तथा विद्यार्थी नेता जवाहीर अन्सारी, सोही नपा–३ का नगर कमिटी सचिव ४० वर्षीय मुकेश साह, सोही नपा–४ का ४२ वर्षीय जिल्ला कमिटी सदस्य बैधनाथ साह कलवार, सोही नपा–२ का ३२ वर्षीय विद्यार्थी नेता राजेश पटेल, सोही नपा–३ का ३५ वर्षीय विद्यार्थी नेता हरीओमसाह कानु, सोही नपा–२ का ४८ वर्षीय अरुन खनाल, सोही नपा–२० का ४० वर्षीय संदिप यादव र सोही नपा–९ का २१ वर्षीय महमद अरिफ अन्सारी रहेको नेकपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले बताउनु भयो ।
सिम्रोनगढ नगरपालिकाको कार्यालयको ना १ ब ३३९९ नम्बरको मोटरसाइकल तोडफोड गरी भाइजर फुटाएकाले थप क्षतिहुन नदिन र अवरुद्ध सडक खुलाउन इन्स्पेक्टरको कमाण्डमा रहेको प्रहरीले गिरफ्तार गरी शान्ति सुरक्षा कायम गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार आमहड्ताल सफल बनाउन बन्द गराउँदै हिडेका नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले बीरगंजको घण्टाघर चोकबाट गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा नेकपा बीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनोज चौधरी, युवा संघका केन्द्रीय सदस्य अरुण यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलाम, प्रचार बिभागका पूर्व सदस्य अरबिन्द सिंह, टुनटुन तिवारी, सुनिल कुशवाहा र विद्यार्थी नेता रामबाबु मण्डल लगायत रहेका छन् । घोषित आमहड्ताल सफल बनाउन घण्टाघर पुगेका आफुहरूलाई प्रहरीले गिरफ्तार गरेको अरविन्द सिंहले बताउनु भयो । गिरफ्तार उनीहरूलाई पुरानो अञ्चल प्रहरी कार्यालय परिसरमा राखि सोही दिन साँझ रिहा गरिएको छ ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा बर्दिवास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजन ढुङ्गाना, नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चुडामणी पोखरेल र वडा सदस्य निरज अधिकारी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । उनीहरूको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउकोमा चोट लागेको छ । बिहानैदेखि आन्दोलनकारीले बर्दिबास बजार, कलकरखाना, शैक्षिक संस्थाहरू बन्द गराएका छन् ।

अन्य

भिडियो