बिरामीको उपचारमा खटिएका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर विपिन आचार्यलगायत स्वास्थ्यकर्मीहरू माथि भएको दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । नेपाल बार एशोसिएशन, उच्च अदालत बार एशोसिएशन, जिल्ला बार एशोसिएशन, इन्सेक लगायत सङ्घ संस्था आवद्ध अधिकारकर्मीहरूले घटनाको अनुगमन पश्चात माघ २० गते विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका हुन ।
आफूहरूलाई सामाजिक अभियन्ता भन्ने केही व्यक्तीहरूले विधि प्रक्रियाको उल्लङ्घन गरी अस्पताल जस्तो संवेदनशील क्षेत्र भित्र प्रवेश गरी स्वास्थ्यकर्मीहरू माथि अमार्यादित क्रियाकलाप र दुर्व्यवहार गरेको घटना प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनको क्रममा दूरदराजबाट उपचारका लागि आएका बिरामीहरूको उपचारमा खटिरहेको बेला एक्कासी केही व्यक्तिहरू आएर दुर्व्यहार गरेर लछार पछार गरी अस्पताल बाहिर लगेर अभद्र व्यवहार गरेको बुझिएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उक्त कार्यमा सङ्लग्न व्यक्तिहरूको पहिचान कानुन अनुसार कारबाहीको माग गरिएको छ ।
नेपाल बार एशोसियशनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ , नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही , इन्सेक लुम्बिनी प्रदेश कार्यालय, प्रमुख भोला महत , फियान नेपालका सुरेश गौतम, अधिवत्ता प्रल्हादबहादुर कार्की, हिमराइटसका प्रकाश उपाध्याय , मानव अधिकार एलाइन्सका प्रभातकुमार ठकुरी, एडभोकेसी फोरमका बसन्त गौतम, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको सुनिश्चिता गर्न र अति सम्वेदनशील मानिने स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्न सबै पक्षलाई अपिल गर्दछौ भनिएको छ ।