१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई माघ ९ गते गिरफ्तार गरेको छ ।
घटनामा सङ्लग्न रहेका बाणगंगा नपा–१० का २२ वर्षीय बिमल गिरी र २८ वर्षीय पुरन थापा फरार रहेको प्रहरीले जनाएको छ ।
पीडितलाई आरोपितहरू कात्तिक २३ गते कपिलवस्तुबाट घर फर्कने क्रममा कञ्चन गाउँपालिका–५ दक्षिण भैसाही भन्ने स्थानमा सामूहिक बलात्कार गरेको र धम्की दिएर कसैलाई नभन्न दवाव दिएको भन्दै पीडितपक्षले माघ ९ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।
आरोपितहरूले बलात्कार पश्चात पीडितको नग्न फोटो र भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।
यसैगरी, ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३० वर्षीय बुवालाई माघ ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले अन्तिम पटक कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ ९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका छन् ।
पीडितकी आमाले दोस्रो विवाह गरेर गएको र बाबुसँग बस्दै आएकी बालिका घटनापश्चात टोलाउने गरेपछि सोधपुछका क्रममा घटना बाहिर आएको इलाका प्रहरी कार्यालय बुटवलका डिएपी प्रतित सिंह राठोरले बताउनु भयो । पीडितलाई बुटवलस्थित सुरक्षित आवास गृहमा राखिएको डिएसपी राठोरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।