INSEC Online

📅 २०८३ जेष्ठ २१

बथनाहाको प्रसूति सेवा एक वर्षदेखि बन्द, सेवाग्राही मर्कामा

महोत्तरीको बथनाहा गाविस-७ मरूवाहीस्थित स्वास्थ्य चौकीमा विगत एक वर्षेखि प्रसूति सेवा बन्द रहेको छ ।

अनमीको अभावमा प्रसूति सेवा बन्द रहेको स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव राजेशकुमार यादवको भनाई छ ।

मासिक १५ देखि २० जनाको प्रसूति गराउँदै आएको सो स्वास्थ्य चौकीमा अनमीकै अभावमा सेवा बन्द गरिएका कारण यहाँका सेवाग्राही महङ्गो रुपियाँ खर्चेर भारत जान बाध्य भएको स्थानीय राघो ठाकुरले बताए ।

यहाँका सेवाग्राही भारतको सुरसण्ड र सितामढीलगायतका ठाउँमा प्रसूति सेवाको लागि जानुपर्दा २५ हजार रुपियाँ भन्दा बढी खर्च हुने गरेको स्थानीयबासीको गुनासो छ ।

झण्डै २० वर्षदेखि सञ्चालनमा आएको उपस्वास्थ्य चौकीबाट स्वास्थ्य चौकी भएको मरूवाही स्वास्थ्य चौकीमा प्रसूति सेवा चार वर्षदेखि सञ्चालनमा आएको स्वास्थ्य चौकीका इञ्चार्ज यादवले बताए ।

उनले भने-‘स्वास्थ्य चौकीमा अनमी पठाइदिन बारम्बार माग गरेको छु । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।’

स्थानीय समाजसेवी पङ्कजकुमार झाले पैसा र पहुँच भएकालाई खासै समस्या नहुने भन्दै दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू मारमा परेको बताए ।

स्वास्थ्य चौकी इञ्चार्ज यादवका अनुसार औषधि र स्वास्थ्यकर्मीहरू उपस्थित रहेको बेला सो स्वास्थ्य चौकीमा बथनाहा, मरूवाही, मधवा, सकरी, हल्खोरी, भङ्गहिया तथा भारतबाट समेत बिरामीहरू सेवा लिन आउने गरेका थिए ।

 

अन्य

भिडियो