INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयको कुटपिटबाट वडाध्यक्ष थापा घाइते

स्थानीयको कुटपिटबाट अदानचुली गाउँपालिका–१ का अध्यक्ष ४८ वर्षीय रग थापा घाइते हुनुभएको छ ।

अदानचुली गाउँपालि–१ कै ३३ वर्षीय मानवहादुर थापा, ३० वर्षीय बरुण महतारा, २७ वर्षीय देवी परियार, २५ वर्षीय धनबहादुर परियार र २६ वर्षीय तुलबिर लुवारले माघ ४ गते कुटपिट गर्दा अध्यक्ष थापा लगायत सोहि ठाउँका ३४ वर्षीय स्थानीय दिपक थापा र २८ वर्षीय मक्क थापा पनि सामान्य घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताउनु भयो ।

वडाध्यक्ष थापाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको थलाहाल्ना मोड देखि कलख्या सम्मको सडक अनुगमनका क्रममा प्राविधिकको सर्बे विना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भनेपछि स्थानीयले ढुङगा प्रहार गर्दा वाडाध्यक्षलाई चोट लागेको अध्यक्ष फडेराको भनाई छ ।

वडाध्यक्षका आफन्त दिपक थापाले श्रीनगर प्रहरीचौकीमा माघ ४ गते मौखिक उजुरी गरेपछि प्रहरी टोली झडप भएको स्थानमा पुगेर स्थिती सामान्य बनाएको  श्रीनगर प्रहरी चौकीका असइ कृष्ण बहादुर बुढाले बताउनुभयो ।

टाउकोमा चोट लागेका अध्यक्षलाई श्रीनगर स्वास्थ्यचौकीमा ६ वटा टाका लगाएर प्राथमिक उपचार गरिएको र थप उपचारका लागि सोहि दिन हेलिकप्टरमार्फत जिल्ला अस्पताल हुम्लामा लिइएको श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज रामसरण थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

प्रहरीले घटनामा संलग्न पीडक पक्षलाई हालसम्म नियन्त्रणमा लिन नसकेको पीडित पक्षका दिपक थापाले आरोप लगाउनु भयो ।

अन्य

भिडियो