इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बिमार सञ्चो बनाउने भन्दै धामीले फलाम लगायतका धातु तताएर डाम्दा पुस २९ गते मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई र मृतकका ३४ वर्षीय छोरा हुमबहादुर मुखियालाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका–६ अर्जे स्थायी घर भई रेसुङ्गा नगरपालिका–१ उदिनढृङ्गामा बस्ने ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र श्रेष्ठकी ३६ वर्षीया पत्नी शान्तिला श्रेष्ठले डामेर एक जनाको हत्या र दुई जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । आरोपित दम्पतीलाई प्रहरीले पुस २९ गते नै गिरफ्तार गरेको छ ।
चार दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएकाले मृतकको शरीर सबै डढेर निलो भएको छ भने घाइते दुई जनाको पनि शरीरका विभिन्न भागमा डढेका निल डामहरू रहेको डिएसपी पाण्डेयले बताउनुभयो ।
शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिका–३ का ६४ बर्षीय रामबहादुर मुखिया ढाड दुख्ने समस्याले पीडित भएपछि पुस २५ गते र रेसुङ्गा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई पनि शरीर पोल्ने र झम्झमाउने भएपछि पुस २४ गते आरोपित श्रेष्ठकोमा पुग्नु भएको पीडित पक्षले जनाएको छ । पीडित सबैलाई चार दिनदेखि श्रेष्ठ दम्पतीले घरमै राखेका थिए ।
गुल्मी सदरमुकाम तम्घास बजार नजिक श्रेष्ठ दम्पतीको कर्म पहिले कसैलाई पत्तै भएन । उनीहरू तीन वर्षदेखि स्थानीय माधव ज्ञवालीको जग्गा भाडामा लिएर बसेका थिए ।
यहाँ उनीहरुको टीनको लामो टहरो छ । सधैँ उनीहरू टहरोमा बस्ने नगरेको छिमेकीहरू बताउँछन् ।
पछिल्लो समय दसैँपछि श्रेष्ठ दम्पती तम्घासमै थिए । पुस २९ गते बिहान हत्या आरोपित रामप्रसाद श्रेष्ठ आफ्नो घरमा अपरिचित व्यक्तिले अशान्ति मच्चाएको भन्दै उजुरी गर्न जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर सन्तोष चन्दसहितको प्रहरी टोली टहरोमा पुग्यो । त्यहाँ मृतकसहित घाइते व्यक्ति देखेपछि प्रहरी पनि अचम्ममा परेको इन्स्पेक्टर चन्दले बताउनु भयो । घाइतेले सबै कुरा प्रहरीलाई सुनाएपछि घटनाको थप रहस्य खुल्यो ।