उर्लाबारी नगरपालिका– ६ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय कुमार पोखरेललाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयमा कक्षामा १२ मा अध्ययनरत उर्लाबारी नगरपालिका–१ का २० वर्षीय निश्चल गुरुङलाई पुस २७ गते गिरफ्तार गरेको छ ।
सोही घटनामा संलग्न भएका सुनसरी, इटहरी उपमहानगरपालिका– १ का २० वर्षीय मोहित राई र उर्लाबारी नगरपालिका–५ का १९ वर्षीय रविन राई फरार रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
के कति कारणले शिक्षकमाथि आक्रमण भएको हो सो खुल्न नसकेको इन्स्पेक्टर पोखरेलले बताउनु भयो ।
पीडित शिक्षकमाथि पुस २७ गते बिहान १० बजे विद्यालय हाताभित्र बोतल, रड र ढुङ्गाले टाउकोमा प्रहार भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन उर्लाबारी नगर समितिका अध्यक्ष धनबहादुर थापाले बताउनु भयो ।
घटना पश्चात राधिका माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीहरू असुरक्षित भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
विद्यालय प्रशासन, शिक्षक कर्मचारी र पेशागत सङ्गठनहरूले विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका छन् ।
घाइते शिक्षकको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भईरहेको छ ।

