INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षिका माथि दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविमा कार्यरत शिक्षिका ३५ वर्षीया विशाल खत्रीलाई कक्षा कोठामै दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक ३८ वर्षीय विष्णु खत्रीलाई इलाका प्रहरी कार्यालय गढवाले पुस ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ५ गते बालविकास कक्षामा पठन पाठन गराइरहेका बेला प्रधानाध्यापक खत्रीले विद्यालयको नियम विपरित कपालमा रातो मेहन्दी लगाएको भन्दै रजिष्टर खोसेर कक्षा कोठाबाट लछार पछार गर्दै निकालेको पीडितले पुस ७ गते लमहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । उहाँले ध्यानाकर्षण गराएर हुने कुरालाई विद्यार्थीकै अगाडि कक्षा कोठाबाट लछार पछार गरी निकाल्दा कपडासमेत च्यातिएको बताउनु भयो । घटनाका विषयमा पीडितले पुस ६ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिनु भयो ।

आरोपित खत्रीले विद्यालयमा शिक्षक, विद्यार्थीले तडक भडकपूर्ण व्यवहार नगर्ने, कपालमा रङ्ग नलगाउने नियम राखिएकाले शिक्षिकाले नियम उल्लङ्घन गर्दा ध्यानाकर्षण गराएको बताउनु भयो ।

आरोपितलाई जिल्ला प्रशासन कार्यालयबाट पुस ७ गते म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गढवाका इन्स्पेक्टर राजकुमार भट्टले जानकारी दिनुभयो ।

अन्य

भिडियो