पञ्चदेवल विनायक नगरपालिका–२ विनायकका वडाध्यक्ष ३७ वर्षीय पदमबहादुर धामीको हत्यामा सङ्लग्न रहेको कसुरमा सोही ठाँउका २६ वर्षीय प्रेम धामी, २५ वर्षीय धर्म धामी, २५ वर्षीय जीवन धामी र २२ वर्षीय रमेश धामीलाई जिल्ला अदालत, अछामले पुस ८ गते जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजालाशले चारै जनालाई २५ / २५ वर्ष कैद सजायको फैसला सुनाएको सरकारी वकिल कार्यालय, अछामका सहन्यायाधीवक्ता चुडामणी पराजुलीले बताउनु भयो ।
हत्या अभियोगमा गिरफ्तार गरिएका पञ्चदेवल विनायक नगरपालिका–२ का ५० वर्षीय पदम धामी, ३५ वर्षीय द्धवारीका न्यौपाने, ३५ वर्षीय धनिराम ढकाल, ३० वर्षीय श्याम धामी र २६ वर्षीय रमेश शाहीलाई भने अदालतले सफाइ दिएको छ ।
वडाध्यक्षको हत्या गरेको आरोपमा पीडित पक्षले ०७६ फागुन १८ गते जिल्ला प्रहरी कार्यालय, अछाममा किटानी जाहेरी दिएपछि नौ जनालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरिएकामध्ये प्रेम धामी, धर्म धामी, जीवन धामी, रमेश धामी पुर्पक्षका लागि थुनामा थिए भने पदम धामी, द्धावारीका न्यौपानै, धनीराम ढकाल र रमेश शाहीलाई ०७७ वैशाख ७ जिल्ला अदालत, अछामले साधारण तारेखमा रिहा गरेको थियो ।
०७६ माघ २१ गते बिहान सोही वार्डको गैरीगाँउमा रहेको भैसीगोठमा वडाध्यक्ष मृत अवस्थामा फेला परेका थिए । शबको पोष्टमार्टम ०७६ माघ २३ गते जिल्ला अस्पताल, अछाममा भएको थियो ।