१७ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरीले उदयपुरगढी गाउँपालिका–६ का १८ वर्षीय दुर्गाबहादुर खड्कालाई पुस २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ३० गते प्रलोभनमा पारी बालबिवाह गरेको र बेपत्ता बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित र बालिकालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले उदयपुरगढी गाउँपालिका–६ स्थित काभ्रेपानी मन्दिरमा लगि मङ्सिर ३० गते सिन्दुरपोते लगाईदिएको र उदयपुरगढी गाउँपालिका–५ नेपालटारमा रहेकी दिदी सुनिता फुँयालको घरमा लुकाएर राखेको अवस्थामा गिरफ्तार गरेको डिएसपी गौतमले बताउनु भयो ।
नेपालको कानुनले २० वर्ष पुगेपछि मात्र बिवाहका लागि योग्य ठान्ने त्यसअघि भएकालाई बालबिवाहलाई बदर गर्ने व्यवस्था गरेकाे छ ।
कानुनले तोकेको उमेर पुरा नभएको अवस्थामा वा झुक्याएर वा केटाकेटीको इच्छा विपरित जात, धर्म, परम्परा आदिका नाममा बिवाह गरे वा गराएका खण्डमा विवाह बदर हुने र त्यसरी विवाह गर्ने गराउनेलाई उमेरको अवस्था हेरी ६ महिना देखि तीन वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।