३२ वर्षीया बलात्कार पीडित अपाङ्गता भएकी महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर २८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
बलात्कारका कारण गर्भवती भएकी पीडितले मङसिर २७ गते शिशु जन्मिएको र आर्थिक अवस्था कमजोर भएका कारण समस्या परेपछि शिशुको स्याहार तथा पौष्टिक आहारका लागि मङसिर २८ गते इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।
आमा र शिशुलाई समस्या परेको भन्दै घोराही उपमनपा अन्तर्गत संस्थागत परिवार नियोजन क्लिनीक घोराहीमा कार्यरत नर्सिङ निरीक्षक राधा पौडेल समन्वय र वडा प्रहरी कार्यालय, घोराहीको सिफारिसमा इन्सेकद्वारा सञ्चालित डिसिए परियोजना अन्तरगत मानव अधिकार सहायता कोषबाट १० हजार रुपियाँ सहयोग गरिएको हो ।
पीडितलाई आरोपित ३५ वर्षीय पहल वलीले ०७६ माघ २ गते बलात्कार गरेको र बलात्कारका कारण गर्भ रहेको थाहा पाएपछि आरोपितपक्षको धम्की दिएपछि एक्लै बस्दै आउनु भएको थियो । आर्थिक अवस्था कमजोर रहेको र आफन्तहरुबाट पनि बेवास्तामा परेपछि पीडित पक्षले ०७७ असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित फरार रहेको वडा प्रहरी कार्यालय घोराहीका इन्स्पेक्टर दिनेश रिमालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २८ गते बुद्ध अस्पताल, घोराहीमा गरिएको थियो ।