१५ वर्षीया बालिकालाई ०७६ भदौ ४ गते बलात्कार गरेको कसुरमा गौरीगंगा नगरपालिका–९ का २२ वर्षीय मिलन देवललाई ०७७ मङ्सिर २५ गते १३ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश बाबुकाजी बानियाको इजलाशले आरोपित देवललाई १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ४ गते इलाका प्रहरी कार्यालय,चौमालामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई भदौ ४ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत, कैलालीमा भदौ ३० गते भएको थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षका लागि जिल्ला कारागार, कैलाली थुनामा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियोे ।
यसैगरी १७ वर्षीया बालिकालाई ०७६ वैशाख १६ गते मानव बेचबिखन तथा असोरपसार गरेको कसुरमा बाजुरा जिल्ला बुढीगङ्गा नगरपालिका—४ का २५ वर्षीय खडक खडायतलाई ०७७ मङ्सिर २५ गते १० वर्ष कैद सजायको फैसला सुनाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलाशले आरोपित खडायतलाई १० वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालिकालाई बेचबिखन गरेको भन्दै पीडित पक्षले वैशाख २० गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई वैशाख२६ गते धनगढीबाट गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत, कैलालीको जेठ १४ गतेको आदेश अनुसार आरोपितलाई पुर्पक्षका लागि जिल्ला कारागार, कैलालीमा थुनामा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।