स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्देशन दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मङ्सिर २३ र २४ गते नेपालगञ्जमा आयोजित समीक्षा बैठकमा इन्सेकका कर्मचारीहरूलाई निर्देशन गर्नु भएको हो ।

कियोस र डीसिए परियोजनाको समीक्षा बैठकमा कार्यकारी निर्देशक गौतमले सरकारका कमीकमजोरीलाई मात्र नभइ सरकारले गरेका सकारात्मक काममा सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनु भयो ।

उहाँले इन्सेक अभियानलाई समयानुसार परिमार्जन गर्दै निरन्तरता दिइने बताउनु भयो । सो अवसरमा कार्यकारी निर्देशक गौतमले इन्सेकले गरेका अभिलेखलाई पूर्णतया डिजिटल बनाउने काम अगाडि बढेको बताउनु भयो ।

इन्सेक व्यवस्थापन प्रमुख सुवेच्छा खड्काले सूचक अनुसारको उपलब्धि खोज्नु पर्ने बताउनु भयो । इन्सेकको मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले इन्सेकद्वारा सञ्चालित परियोजनाहरूको उपलब्धि खोज्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा इन्सेकका विभागीय प्रमुख, प्रदेश प्रमुख र कार्यक्रम फोकल पर्सनहरू सहभागिता रहेको छ ।