INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमै बसेर मासिक १० हजार रुपियाँ आम्दानी

मेहनत, सिप, जोशजाँगर भए दुई छाक टार्न र पकेट खर्च गर्न टण्टलापुर घाममा वालुवा र गिटी नै चाल्नु पर्दैन । थोरै मेहनत, परिश्रम गरे पुग्छ । यसको ज्वलन्त उदाहारण बनेका छन् जिल्ला कारागार उदयपुरमा बन्दी जीवन बिताइरहेका १०/१२ जना कैदीबन्दी ।

जेलभित्रको जीवन कोचिएर तनावपूर्ण रूपमा जीउनु पर्ने भन्ने कथनलाई उनीहरूले चिर्दै जेलभित्रै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । कारागारमा बन्दी जीवन बिताउँदै उनीहरूले घर खर्च र सन्तानको शिक्षादीक्षामा सहयोग पुर्‍याइ रहेकाछन् । चार वर्षदेखि जेल जीवन बिताइरहेका भलायडाँडा गाविसका देवेन्द्र अधिकारी विना लगानी, मेहनतको भरमा जेलभित्रको आफ्नो खर्च कटाएर परिवारलाई मासिक ५ देखि १० हजार रुपियाँसम्म पठाउने गर्दछन् ।

सिप भए कहीँ गएर पनि भोकै बस्नु नपर्ने भन्दै अधिकारीले जेलभित्रै पलङ, टेवुल, दराजलगायतका फर्निचरका सामग्री बनाउँदै आएका छन् । सामान बनाउन चाहिने काठ र अन्य सामग्री जेल भित्रै पुर्‍याइदिएपछि बसी बसी आफ्नो कला प्रदर्शन गर्ने गरेको उनी बताउँछन् । आफूले बनाएको फर्निचर जिल्ला भित्र र बाहिर खपत हुने गरेको उनले बताए ।

झण्डै दुई महिना मेहनत गरेर बनाएको उनको पलङको ज्याला २० हजार रुपियाँ रहेको छ । उनले भने-‘एक जना हेल्पर पाउने भए निकै र चाँडै बनाउने थिएँ । तर, कोही छैनन् । बिस्तार एक्लै तयार पार्छु’ अधिकारी जस्तै प्रकाश राई, वीरबहादुर मगर, झगरे दमाई मुढा बनाएर आयआर्जन गरिरहेका छन् । उनीहरू पनि जेल भित्रका उद्यमी हुन् ।

एक जनाले सरदर दैनिक कम्तिमा एउटा मुढा बनाउने गरेका उनीहरूको सात जनाको समूह रहेको कारागारका जेलर सिताराम कार्कीले बताए । उक्त मुढा ४ सय ५० रुपियाँका दरले विक्री गर्ने गरेको प्रकाश राईले बताए । मुढा बनाएरै आफूहरूले मासिक सरदर १० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको उनीहरू बताउँछन् ।

दिनभर क्याराम वोर्ड खेल्नु र सुत्नुभन्दा नजानेको कुरा सिक्नु र सिप प्रदशन गरेर दुई चार पैसा कमाएको राम्रो हुने उनीहरू बताउँछन् । आफूहरू सिपमूलक तालिम लिएर मुढा बनाउन सिकेको बताए । कतिपयले त साथीहरूले बनाएको हेरर सिक्ने गरेका छन् भने कतिले त जेल आउनु अगाडि नै सिकेको बताए । नियमित मुढा र फर्निचरका सामग्री बनाउन पाए मनग्गे आम्दानी हुने उनीहरूको भनाइ छ ।

तयार पारिएका सामग्री बजार अभावका कारण गोदाममै थन्क्याउनुपर्दा भने काम गर्ने जाँगर नै मर्ने गरेको झगर दनुवारको अनुभव छ । उनले भने-‘बनाउन केही समस्या छैन । बनेको सामग्री विक्रीको समस्या छ । छिटफुट रूपमा केही साथीहरूले बनाएर विक्रीका लागि पठाउनु हुन्छ । बाँकी समस्या छ ।’ उनीहरूले सामान विक्रीका लागि बजार व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

नियमित रूपमा मुढा किन्न आउने गरेकी सीता बस्नेत भन्छिन्-‘बाहिरी बजारमा भन्दा केही महङ्गो मूल्य तिर्न परेपनि बन्दीहरूले बनाएको सामान निकै टिकाउ र बलियो छ ।’

अन्य

भिडियो