राष्ट्रिय मानव अधिकार आयोग भएको आम नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले जोड दिएकी छन् । पुस १६ गते नेपालगञ्जमा प्रवक्ता अन्सारीले राज्यको संवैधानिक निकायलाई आम नागरिकले ‘एनजिओ’को रूपमा चिन्न थालेको बताउँदै आयोगले पँहुच वृद्धि गर्नुपर्ने धारणा राखेकी थिइन् ।
सो अवसरमा मानव अधिकारको रङ्ग एउटै भएको बताउँदै अन्सारीले आम जनताले मानव अधिकारको उपभोग गर्न पाउनुपर्नेमा जोड दिएकी थिइन् ।
सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दोहोरो रवैयामा प्रस्तुत हुने गरेको बताइन् । उनले राज्यको नीति कानुनहरू कागजमा मात्र सीमित भएका कारण जनताले उपभोग गर्न नपाएको धारणा व्यक्त गरेकी थिइन् ।
पछिल्लो अवस्थामा आयोगसँग स्रोत साधनको कमी नभएको बताउँदै आयोग प्रति विश्वास जगाउन र पहुँच वृद्धि गर्न आयोगका पदाधिकारी तथा कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताउँदै राष्ट्रिय संयन्त्र क्रियाशील भए राज्य र जनताको सम्बन्ध सुमधुर हुने उनको बुझाइ छ । सो अवसरमा उनले निकट भविष्यमा मानव अधिकार उल्लङ्घनकर्ताहरूको नाम कालोसुचीमा राख्ने कार्ययोजना ल्याउन लागिएको समेत बताइन् ।