INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहल पछि पार्वता नागरिता पाउन सफल

धुर्कोट गाउँपालिका–४ जैसीथोक पिपलनेटाकी ३३ वर्षीया पार्वता पन्थीले इन्सेकको पहलमा जिल्ला प्रशाससन कार्यालय गुल्मीबाट कात्तिक २४ गते नागरिकता पाउनु भएको छ ।
इन्सेकको पहलमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी, अधिकारकर्मी गणेश विश्वकर्मा, इन्सेक जिल्ला प्रतिनिधि  टोपलाल अर्याल लगायत साँक्षी बसेर नागरिकता दिलाइएको हो ।

इन्सेक अनलाइनमा ०७७ साउन १३ गते ‘नागरिकता र जन्मदर्ता नहुँदा आमा छोराको बिचल्ली अदालतको आदेश समेत कार्यान्वयन भएन’ शिर्षकको समाचार प्रकाशित भएको थियो । भने उहाँले ०७७ साउन ८ गते न्यायमा पहल गर्न इन्सेक गुल्मीलाई निवेदन समेत दिनु भएको थियो ।

photo2020101001gulmi

विपन्न दलित परीवारकी पार्वता पार्वता र स्थानीय ममराज पन्थीबिचको सम्बन्धबाट ०६१ वैशाख १ गते बच्चा जन्मियो । पार्वतालाई नअपनाएर ममराज फरार भए ।  लामो समयसम्म नफर्केपछि  पार्वताले जिल्ला अदालतामा ०७३ वैशाख ९ गते अंशवण्डा र माना चामल मुद्दा दर्ता गर्नुभयो ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश मातृकाप्रसाद मरासेनीले ०७३ मङ्सिर १२ गते पार्वता ममराजकै पत्नी र उनीहरुकै छोरा सरोज भएको फैसला गर्दै ममराजबाट मासिक ३ हजार रुपियाँ खर्च भराउने फैसला गर्‍यो । ममराजले कुनै वास्था गरेनन् । जसका कारण अदालतले ममराज पन्थीबाट पार्वतालाई अंशवण्डाको अधिकारसहित खाना खर्च बापत एक रोपनी जग्गा उपलब्ध गराउने फैसला समेत ग¥यो । तर नागरिकता नभएका कारण लालपुर्जा नहुँदा भोग चलन गर्ने अवस्था भएन ।

पार्वताले जिल्ला अदालतबाट मुद्दा जितेपनि पति वा घर परिवारका कोही साँक्षी बस्न नमानेपछि जिल्ला प्रशासन कार्यालयबाट  नागरिकता पाएन । नागरिकता नभएकाले  १६ वर्षीय छोराको जन्मदर्ता समेत भएन ।

photo2020101002gulmi

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अदालतको प्रमाण र स्थानीय सरकार प्रमुख र अधिकारकर्मीहरू साँक्षी बसेर पीडितलाई नागरिकता प्रदान गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो ।

यसैगरी धुर्कोट गाउँपालिका प्रमुख पोख्रेलले अदालतले फैसला गरेर न्याय दिएको सन्दर्भमा आफन्त घरपरिवार साँक्षी बस्न नमानेपछि जनप्रतिनिधीको हैसियतले आफु अगाडि आएको बताउनु भयो । दलित अधिकारकर्मी गणेश विश्वकर्माले ०७३ सालदेखिको ठुलो प्रयास आज सफल भएकोमा सहयोग गर्ने इन्सेक जिल्ला प्रतिनिधिसहित सबैलाई धन्यवाद दिनुभयो ।

नागरिकता पाएपछि पार्वताले अदालतको फैसलाको कागज चार वर्ष डुलाउँदा डुलाउँदै च्यातिने बेलामा नागरिकता पाएको प्रतिक्रिया दिनुभयो । उहाँले आफुसँग बच्चाको भविष्यका लागि नागरिकता दिलाउन पहल गर्ने सबै संस्था र व्यक्तिहरूप्रति  आभार प्रकट गर्नुभयो ।
इन्सेक प्रतिनिधि  टोपलाल अर्यालले पार्वतालाई पीडित सहयोग कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत नगद १० हजार रुपियाँ सहयोग प्रदान गरेका छन् ।

अन्य

भिडियो