संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदको सदस्यमा नेपाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको निर्वाचनमा नेपाल पुन: तीन वर्षका लागि सदस्यमा निर्वाचित भएको हो । सन् २०२१-२०२३ सम्मका लागि नेपाल निर्वाचित भएको संयुक्त राष्ट्र सङ्घको लागि नेपालको स्थायी मिसनले जनाएको छ ।
यसअघि सन् २०१८-२०२० का लागि नेपाल निर्वाचित भएको थियो। एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् ।
गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको मिसनद्वारा जार विज्ञप्तिमा जनाइएको छ ।
नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मालावी र सेनेगल, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स निर्वाचित भएका छन् ।
एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रका सदस्य निर्विरोध निर्वाचित भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिनुभएको छ ।
