INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को संक्रमणले वडास्तरीय स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामीलाई समस्या

कोभिड१९ को सङ्क्रमणको जोखिमको कारण तनहुँको भानु नगरपालिकाका वडाहरूमा दिदै आइएको स्वास्थ्य सेवा प्रभावित हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

नगरपालिकामा यस अघि प्रत्येक तीन / तीन महिनामा हुँदै आएको सुगर (मधुमेह) र प्रेसर (उच्च रक्तचाप)को परीक्षण हाल रोकिएको छ । जसको कारण मधुमेह र रक्तचापका बिरामीलाई नियमित औषधी सेवनकोलागि समस्या परेको छ ।

भानु नगरपालिका ६ की रुकमणी खनालले प्रत्येक तीन महिनामा वडा स्तरमा हुने परीक्षण रोकिदा मधुमेह र रक्तचापको बिरामीलाई औषधी निरन्तरता दिन नसकिएको बताउनुभयो ।

विशेषगरी ज्येष्ठ नागरिकहरु नियमित परीक्षण र औषधी सेवन गर्न नपाउँदा समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।

युवा अवस्थाकाहरु स्वास्थ्य संस्थामा आफै गएर पनि परीक्षण गर्न सक्छन्’ –उहाँले भन्नु भयो – ‘तर ज्येष्ठ नागरिक र अशक्तहरुलाई घरमै गएर परीक्षण गर्न नपाउँदा निकै समस्या परेको छ ।

कोभिडकै त्रासको कारण स्वास्थ्य संस्थामा परीक्षण गर्न गएपनि स्वास्थ्यकर्मीहरुले नजिकै आएर परीक्षण गर्न डराउने उहाँको भनाइ छ ।

त्यसैगरी विगत तीन महिनादेखी बालबालिकालाई दिइने नियमित खोपसेवा पनि अवरूद्ध भएको भानु नगरपालिका १० की सोभा पन्तले बताउनुभयो ।

कोभिडको कारण भन्दै खोप लगाउने आउने स्वास्थ्यकर्मी नआउँदा बालबालिकालाई लगाइने नियमित खोप सेवा पनि बन्द भएको पन्तले बताउनुभयो ।

भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले अहिले स्वास्थ्यकर्मीको अभाव भएको कारण वडा वडामा गएर मधुमेह र रक्तचापको परीक्षण गर्न नसकिएको बताउनुभयो ।

कोभिडको त्रासको कारण गाउँगाउँमा जान सक्ने अवस्था पनि नरहेको हुँदा सबैलाई स्वास्थ्य संस्थामा नै आउन अनुरोध गरिएको उहाँको भनाइ छ ।

नगरपालिकाका सबै वडामा पाँच सय भन्दा बढी ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई यस अघि वडा वा पायक पर्ने ठाउँमा गएर परीक्षण गरिँदै आएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

अन्य

भिडियो