प्रदेश ५ को स्थायी राजधानीको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले असोज १९ गते प्रदेश सभा बैठकमा तोडफोड गरेका छन् ।
नाराबाजी गरिरहेकामध्ये प्रदेश सभा सदस्य बसिरुद्दिन खाँले कुर्सी उचालेर टेबलमा पछारेपछि अष्टभुजा पाठक र बैजनाथ कलवारले पनि कुर्सी तोडफोड गर्नु भएको थियो । त्यसपछि कांग्रेस सांसदहरू बस्ने कुर्सी, टेबल र माइकहरू छरपष्ट भएको थियो ।
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्तावबारे छलफलका लागि असोज १९ गते बोलाइएको सभामा प्रदेश सभा सदस्यहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।
नाराबाजी र तोडफोडका कारण संसद बैठक केहीबेरका लागि स्थगित भएको थियो । तोडफोडअघि विशेष समय लिएर बोल्नु भएका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिका आधारमा राजधानी तोक्नुपर्ने बताउनु भएको भयो ।
दोस्रो बैठकमा पनि नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले फरकमतको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने बताउनु भएको थियो ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दा नाराबाजी गरिरहेका विपक्षी सांसदहरू मन्त्री केसीको बाटो छेक्न रोष्टम छेउ गएका थिए ।
प्रदेश सभा सदस्यहरूले मन्त्री केसीलाई रोष्टममा पुग्नबाट रोक्ने र प्रस्ताव पत्र खोसाखोस समेत भएको थियो । मर्यादा पालकको सहयोगमा मन्त्री केसीले रोष्टममा पुगेर प्रस्ताव पेश गर्नु भएको थियो ।
सभामुखले होहल्लाकै बिचमा छलफलको औपचारिकता पुरा गराएर छलफलमा भाग लिन प्रदेश सभा सदस्यहरुलाई समय उपलब्ध गराएपछि विपक्षीको नाराबाजीसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही सांसद उठेर हात उठाएर समर्थन गरेका थिए ।
सभामुखले प्रस्ताव संशोधनका लागि १८ घण्टे सूचना दिएर छलफलमा उठेका प्रश्नहरूको जबाफका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई समय दिनु भएको थियो ।
मन्त्री केसीले संसदीय मर्यादा विपरीत मर्यादापालकलाई निर्देशन दिएको कांग्रेसले आरोप लगाएको छ । मन्त्री केसीले आक्रोशित भएर विपक्षी सांसदहरूतर्फ इङ्गित गर्दै ‘घिसारेर बाहिर निकाल्न’ मर्यादापालकलाई निर्देशन दिनु भएको थियो ।