इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित दुईजना महिलाहरुलाई असोज १९ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ५ की ६९ वर्षीया विष्णुदेवी चौलागाई र जाजरकोट जिल्ला कुसे गाउँपालिका ७ घर भई वीरेन्द्रनगर नपा ६ मा बस्दै आएकी २३ वर्षीया सुशिला सिंह शाहीलाई प्रतिव्यक्ति १५ हजार रुपियाँ सहयोग प्रदान गरेको हो ।
इन्सेकद्वारा गठित हिंसा निगरानी समूहमा पीडितले दिएको उजुरी उपर अनुगमन पछि गरिएको सिफारिसको आधारमा उनीहरुलाई सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताउनुभयो ।
हिंसा पीडितहरुलाई रकम हस्तान्तरण गर्दै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले घरेलु हिंसाका पीडितहरुलाई न्यायिक प्रक्रियामा सहयोग पुर्याउन सहयोग प्रदान गर्दै आएको बताउनु भयो ।
इन्सेकले यस अघि ७ जना हिंसा पीडितहरुलाई आर्थिक सहयोग प्रदान गरिसकेको संयोजक सुवेदीको भनाई छ ।
