सिद्धनाथ माध्यमिक विद्यालयको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १५ जना बालबालिकाहरुले विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन शिक्षाबाट वन्चित भएको गुनासो गरेका छन् ।
अधिकाङ्स बालबालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण दैनिक रुपमा मोवाइल रिचार्ज गरेर अनलाइन कक्षामा सहभागि हुँने अवस्था नरहेको सिद्धनाथ माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत दृष्टिविहिन विद्यार्थी मोहन भट्टले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘अनलाइन कक्षामा सहभागी हुँनका लागि अर्काको सहारा लिनु पर्ने हुन्छ । सधै अर्काको सहयोग र सहारा लिन पनि नसकिने भयो ।’
गाउँघरतिर इन्टरनेटको सहज पहुँच नहुँदा अनलाइन शिक्षाबाट वन्चित हुनुपरेको कक्षा नौ मा अध्ययनरत छात्रा हरीना भण्डारीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सवै जसो स्थानमा नेपाल टेलिकमको सञ्चार सुविधा नभएका कारण अनलाइन शिक्षाबाट वन्चित हुनु परेको छ ।’
आफूहरुले दैनिक ज्यालादारी गरी घर खर्च चलाउदै आएकोमा कोरोना महामारीका कारण दैनिक ज्यालाको काम पनि गर्न नसकिएकोले मोवाइलमा रिचार्ज गर्न नसकिएकोले बालिबालिकाहरु अनलाइन शिक्षाबाट वन्चित भएका अभिभावक बासुदेव भट्टले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘आफूसँग मोवाइल छै । अनलाइन कक्षाका लागि मोवाइल माग्नु पर्ने अवस्था छ । कसरी अनलाइन कक्षा बालबालिकाले लिन सक्छन् ?।’
विद्यालयले अनलाइन विधिमार्फत पठनपाठन सुरू गरेपनि दृष्टिविहिन बालबालिकाहरूको पहुँचमा पुग्न नसकेको दृष्टिविहिन विद्यार्थीका श्रोत शिक्षक केहरसिंह वडैलाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अनलाइन कक्षामा दृष्टिविहिन बालबालिकाहरुको सञ्चार प्रविधिमा सहज पहुँच नहुँदा समस्या भएको छ । नगरपालिकालाई सहयोग गरिदिन आग्रह गर्दा सुनवाइ हुन सकेको छैन् । कोरोना सङ्क्रमणका कारण नगर शिक्षा शाखाबाट मासिक रूपमा प्राप्त हुने रकम समेत विद्यार्थीले पाउन सकेका छैनन् ।’
विद्यार्थीहरुलाई सम्पर्क गरी अनलाइन कक्षामा सहभागी गराउन प्रयास गरिहेको भएपनि सबै विद्यार्थीहरु अनलाइन कक्षामा सहभागि हुन नसकेको विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘फोन गरेर अनलाइन कक्षामा सहभागि हुँन आग्रह गर्दा मोबाइलमा पैसा नभएको गुनासो गर्छन् । विद्यालयले उनीहरूलाई रिचार्ज गरेर पठनपाठनमा सहभागि गराउने अवस्था छैन् ।’
नगरपालिकाका सवै स्थानहरुमा सञ्चारको पहुँच हुन नसकेकाले अनलाइन शिक्षा प्रभावकारी हुँन नसकेको गुनासो आइरहेकाले सरोकारवाला पक्षहरुसँग छलफल गरी यसै महिनादेखि विद्यालय सञ्चालनको तयारी गरिरहेको परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउँदले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘लकडाउनका कारण विद्यालय बन्द भएपछि दृष्टिविहिन बालबालिका लागि पठाउँदै गरिएको सहयोग रकम पठाउन सकिएको छैन् । विद्यालय सञ्चालनमा आएपछि सो रकम पठाउने छौँ ।’