जोखिममा परेका मानव अधिकार रक्षक तथा गम्भिर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाका पीडितको उद्धार, राहत, पुनर्स्थापना र आवश्यक सहयोग पुर्याउने उद्देश्यले भदौ २४ गते मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाको आयोजनामा अधिकारकर्मी, नागरिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थितीमा सात सदस्यीय समिति रहने गरी मानव अधिकार सहायता कक्ष स्थापना गरिएको हो ।
समितिका सदस्यहरूमा उच्च अदालत वारका अध्यक्ष उत्तम आचार्य, वामका कार्यकारी निर्देशक मधुरानी ढकाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति महासचिव दीपेन्द्र शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा, समाज जागरण केन्द्र (स्याक) का कार्यकारी निर्देशक टिकाराम आचार्य, दलित महिला संघ सुर्खेतकी सचिव खगीसरा वली र इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रलेख अधिकृत टीका विष्ट रहेका छन् ।
मानव अधिकार सहायता कक्षको पर्यवेक्षकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त निर्देशक रमेश कुमार थापालाई राखिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो । संयोजक सुवेदीले सहजीकरण गरेको कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सरीता पुरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकार सहायता कक्षको निर्देशिका बारे जानकारी दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त निर्देशक थापाले मानव अधिकार संरक्षण सम्बर्द्धनमा आयोग र इन्सेक सहकार्य गर्दै आएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा सहभागीहरुले मानव अधिकार सहायता कक्षको दिगोपनाको आवश्यक्ता रहेको चर्चा गर्दै मानव अधिकार उलंघन तथा ज्यादतिका घटनाबारे सबैको धारणा एक हुनुपर्नेमा जोड दिएका थिए ।

