INSEC Online

📅 २०८३ जेष्ठ २१

पानी छाेएकाे आराेपमा बालिकामाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

उर्लावारी नगरपालिका–४ की १२ वर्षीया फूलसरी मङ्ग्राती(सार्की) लाई पानी छोएको निहुँमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका २३ वर्षीय अमिर श्रेष्ठलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

भदौ २२ गते पीडित बालिका आरोपितको घरमा फ्रिजमा राखिएको पानी माग्न गएको र सोही समयमा आरोपितले सोहृ श्राद्दका समयमा घरभित्र पसेको आरोपमा बालिकालाई कुटपिट गरेको पीडित बालिकाकी आफन्त ५० वर्षीया दुर्गाकुमारी रोकाले बताउनु भयो ।

घटनामा संलग्न भएको आरोपमा दुर्गाकुमारीले भदौ २२ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितमध्येका एक जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका आरोपित ६० वर्षीय नन्दलाल श्रेष्ठ र ४७ वर्षीया निर्मला श्रेष्ठ फरार रहेको र उनीहरूको खोजी भईरहेको एसपी खड्काले बताउनु भयो ।

पानी लिन गएकी बालिकालाई सुरूमा अमिर श्रेष्ठले थप्पडले हिर्काएको र त्यसपछि परिवारका अन्य सदस्यले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी खड्काले बताउनु भयो ।

कुटपिटबाट पिठ्युमा चोट लागेकी बालिकाको उपचार भदौ २३ गते उर्लावारीस्थित मङ्गलवारे अस्पतालमा गरिएको छ ।

आरोपितमाथि जातीय छुवाछूत तथा भेदभाव शीर्षकमा उजुरी दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

नेपालको संविधान २०७२,धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हक सम्बन्धी व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति,जातजाति,समुदाय,पेशा,व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भन्ने उल्लेख छ ।

सोही धाराको उपधारमा ५ मा सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनी बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ ।

Morang Photo 20200909

अन्य

भिडियो