सिगास गाउँपालिका–३ बल्लेखानस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब २५ वर्षीय भूपेन्द्र बोहरालाई भदौ २२ गते बाटोमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय भानसिंह बोहरालाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
आफूमाथि कुटपिट गरिएको भन्दै पीडितले भदौ २२ गते गाजरी प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
स्वाब सङ्कलनका लागि बल्लेखानबाट सिगास गाउँपालिका–५ ढुङ्गाड गइरहेको अवस्थामा बाटो नजिकै रहेको भुमीराज आधारभुत विद्यालयमा भिडभाड गरी बैठक बसिरहेका व्यक्तिहरुलाई सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा आफूमाथि हातपात र कुटपिट गरिएको पीडितले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
कुटपिटबाट घाँटी, खुट्टा र पाखुरामा चोट लागेका बोहराको भदौ २२ गते बल्लेखानस्थित आधारभुत स्वास्थ्य केन्द्रमा उपचार भएको स्वास्थ्य केन्द्रका इन्चार्ज हेमन्तसिंह साउदले बताउनु भयो ।
स्वाब सङ्कलन गर्न गएका स्वास्थ्यकर्मीलाई बाटोमै कुटपिट गरेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको बल्लेखान आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज साउदले बताउनु भयो ।