INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमाली जिल्लाको शैक्षिक सत्र अन्यौलमा

कोभिड१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरुको शैक्षिक सत्र भने अन्यौलमा परेको छ ।

गएको फागुन १ गतेबाट सुरु हुने विभिन्न पाँच हिमाली जिल्लाहरुको शैक्षिक सत्रको यस अवधिमा अहिलेसम्म पनि पढाई नहुँदा विद्यार्थी तथा अभिभावकहरुमा अन्यौलता छाएको छ ।

 देशका पाँच ओटा हिमाली जिल्लाहरुमा नेपाल सरकारले फागुन १ गते बाट शैक्षिक सत्र सुरु हुने र मङ्सिरमा परीक्षा हुने व्यवस्था गरेको छ ।

चैतदेखि सबै प्रकारका संघसंस्थाहरु बन्द भएपछि पढाई पनि रोकिएको वर्तमान अवस्थामा हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पाको शैक्षिक सत्र नै करिब सकिएको शिक्षा विभागका योजना तथा अनुगमन शाखाका निर्देशक घनश्याम अर्यालले बताउनुभयो । सुरुको एक महिना पढाई भए पनि अबको अवस्थाले उनीहरुको आगामी शैक्षिक कार्यक्रम के हुने भन्ने टुङ्गो छैन ।’, उहाँले भन्नुभयो ।

 हरेक वर्ष मंसिरमा परीक्षा हुने र फागुन १ गते बाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको भए पनि यसपटक भने फागुन महिनामा पढाएपछि विद्यालय बन्द हुँदाको अवस्थामा के गर्ने भन्ने अन्यौलता देखिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका टंकराज बरालका अनुसार शैक्षिक सत्रको सुरुमा जाडो याममा घुम्ती विद्यालय सञ्चालन गर्ने उपल्लो मुस्ताङका २० विद्यालयले पहिलो त्रैमासिक परीक्षा समेत सञ्चालन गरेको भए पनि अन्य विद्यालयहरुले एक महिना मात्रै पढाएका छन् ।

 राज्यले बनाएको शैक्षिक क्यालेण्डर अनुसार कुनै पनि हालतमा अब मुस्ताङको शैक्षिक सत्र पुरा हुँँदैन ।‘–इकाई प्रमुख बरालले भन्नुभयो ।–‘मङ्सिरमा परीक्षा हुनपर्ने भदौको आधा सकियो, दशैं तिहारले गर्दा असोज कात्तिकमा पहिला पनि पढाई राम्रोसँग हुँदैन्थ्यो, अब शैक्षिक क्यालेण्डर अनुसार हेर्दा मुस्ताङको शैक्षिक सत्र करिब सकियो ।

 राज्यले अर्को विकल्प नसोचेमा बालबालिकाको एकवर्ष त्यसै खेर जाने हिमालपारीको जिल्ला मुस्ताङको कागबेनीमा रहेको जनशान्ति माविका प्रधानाध्यापक प्रेम गौतमले बताउनुभयो ।

हाल हामीले शैक्षिक सत्र के हुन्छ त्यसको बारेमा पनि छलफल गर्दैछौं भने कागबेनी वरिपरी रहेका विद्यार्थीहरुलाई दैनिक तीन घण्टाका दरले वैकल्पिक शिक्षाको रुपमा पढाउन थालेका छौं’, उहाँले भन्नुभयो ।

जनशान्ति माविको संयोजनामा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखाले भौतिक दुरी तथा मास्क सेनेटाइजरको व्यवस्था गरेर भदौ ११ गतेदेखि पढाउन थालिएको हो ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख शिव खड्काले भदाै १४ गते ५० जना बालबालिकालाई पढाएको जानकारी दिनुभयो ।

 धौलागिरी मावि जोमसोम, जनशान्ति मावि कागबेनी, जनहित जोमसोम, मुक्तिनाथ आधारभूत विद्यालय झारकोट, जननर्मल आधारभूत विद्यालय छुसाङका गरी त्यस क्षेत्रमा बसोबास गर्ने ५० जना विद्याथीलार्ई कागबेनीमा पढाउन थालिएको हो ।

भौतिक दुरीलाई कडाइका साथ पालना गर्दै थप विद्यार्थीहरुलाई पनि पढाउने व्यवस्था मिलाइने प्रमुख खड्काले बताउनुभयो । कोभिड१९ को जोखिमका विरुद्ध सुरक्षा सामग्रीहरुको व्यवस्था अहिले राम्रोसँग भएपनि थप व्यवस्थापनका लागि कार्यपालिका बैठकमा अनुरोध गरिने उहाँले जानकारी दिनुभयो ।

 मुस्ताङ जिल्लामा चालु शैक्षिक सत्रका लागि कक्षा १ देखि कक्षा १० मा ३ हजार ९१ जना विद्यार्थी भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख टंकराज बरालले बताउनुभयो ।

पाँच ओटा स्थानीय तह रहेको मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा मात्रै कक्षा ११ र १२ सञ्चालन हुने भए पनि यस वर्षको भर्ना भने लिएको छैन ।

अहिले मुस्ताङको लोमन्थाङ गाउँपालिकाको दिव्यदिप मावि छोसेर, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मावि कागबेनी र जननर्मल आधारभूत छुसाङ तथा थासाङमा सामान्य रुपमा कक्षा १५ को वैकल्पिक कक्षा सञ्चालन भएको छ ।

त्यस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भने कुनै पनि कक्षा सञ्चालन नभएको इकाई प्रमुख बरालले बताउनुभयो ।

photo20200903Mustang

अन्य

भिडियो