सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ ।
विद्यालयका एसईईमा सहभागी एक छात्रा सहितका ६ जना विद्यार्थीहरूले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका शिक्षक झलक दाहालले बताउनु भयो । रिजल्टमा सी ग्रेड आएको र रोजेको विषय पढ्न नपाएको भन्दै एसईईमा सहभागी विद्यार्थीहरूले प्रधानाध्यापक तथा अङ्ग्रेजी विषयका शिक्षकलाई कुटपिट गरेको शिक्षक दाहालले बताउनुभयो ।
विद्यार्थीहरूको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा चोट लागेको छ । अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । घाइते दुबै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
घटनापछि विद्यालयका शिक्षक कर्मचारीहरूको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।
विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये नौ जनाको नतिजा सी ग्रेड आएको र तीनै मध्येका ६ जनाले कुटपिट गरेको बताइएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मौखिक जानकारी आएको तर उजुरी नआएको डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो ।
शिक्षकका सङ्घ सङ्गठनहरूले घटना निन्दनीय भएको र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।