मेचीनगर नगरपालिका–१३ की २७ वर्षीया चन्द्रकला लाम्गादे र उहाँका २८ वर्षीय पति सुमन खातीलाई जातीय गालीगलौचसहित कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ५० वर्षीय दुर्गाबहादुर श्रेष्ठ र उनकी ४५ वर्षीया पत्नी विष्णु श्रेष्ठलाई गिरफ्तार गरेको छ ।
आरोपितले भदौ ९ गते जातीय गालीगलौचसहित कुटपिट गरेको आरोपमा पीडितले सोही दिन इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि सोही दिन गिरफ्तार गरेको इन्स्पेक्टर कैलाश चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितद्वयले छिमेकी राजन दर्जीलाई जातीय हिसाबले गालीगलौच गरेकी पछि आफूले अहिलेको समयमा ठूलो जात,सानो जात भनेर मान्छेलाई हेप्न पाइन्न भन्दा आफूलाई कुटपिट गरेको पीडित चन्द्रकलाले बताउनुभयो । पत्नीलाई कुटेपछि छ्ट्याउन जाँदा आफूलाई सेनाले लगाउने वेल्टले कुटपिट गरेको पीडित सुमन खातीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
सात महिनाकी गर्भवती पत्नीलाई कुटपिट गरेपछि आफू छुट्याउन जाँदा आफूमाथि आक्रमण भएको सुमन खातीले बताउनु भयो । कुटपिटबाट घाइते हुनु भएकी चन्द्रकलाको वि एण्ड सी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ । कुटपिटबाट पेट दुख्ने समस्या भएको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
प्रहरी समेत रहनु भएकी एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला कोरोना महामरीका कारण झापा बस्दै आउनु भएको थियो । उहाँ इलाका प्रहरी कार्यालय धुलाबारी काजमा हुनुहुन्छ ।
आरोपितद्वयलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा हिरासतमा राखी अनुसन्धान भईरहेको इन्स्पेक्टर कैलाश चौधरीले बताउनु भयो ।