हाडहाडेकी -९ का ७ वर्षीय विवेक पुन र ५ वर्षीय विक्रमको हत्या गरेको कसुरमा सौतेनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले पुस ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले आरोपित शान्तालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला न्यायाधिवक्ता कैलाश केसीले जानकारी दिए । फैसलासँगै उनी जेल चलान भएकी छन् ।
०७२ माघ ६ गते विवेकलाई खानामा विष खुवाएर र विक्रमलाई घाँटी थिचेर हत्या गरेको कसुरमा शान्तालाई जन्मकैदको फैसला सुनाइएको अदालतले जनाएको छ ।
ज्यानसम्बन्धी महलको १३ (२) र (३) अनुसारको कसुर गरेको ठहर हुन आएकाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधिवक्ता केसीले बताए ।
मुलुकी ऐनको १३ (२)मा हत्या गर्ने योजनाले विष वा विषालु पदार्थ खुवाएमा र १३ (३) अनुसार हत्या गर्ने उद्देश्यले साना हतियार प्रयोग गरेको वा थिचेको वा दबाएको पाइएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।