प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले वैशाख २२ गते तीन जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले नेकपाका इलाम इन्चार्ज भएको आरोपमा सङ्खुवासभा चैनपुर नगरपालिका–६ का ५४ वर्षीय पुष्पबहादुर बोहोरा, कार्यकर्ता ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–८ का १८ वर्षीय पासाङ दण्डु शेर्पा र उदयपुर ताप्ली गाउँपालिका–६ का १९ वर्षीय पासाङ तामाङलाई गिरफ्तार गरेको एसपी हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।
विप्लव समूहका कार्यकर्ता बसेका छन्, भन्ने सुराकीको आधारमा माई नगरपालिका– ९ बाट उनीहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
उनीहरू बसेको स्थानमा गिरफ्तारीका लागि प्रहरी पुगेपछि भाग्न खोज्दा प्रहरीले सात राउण्ड हवाइ फायर गरेको एसपी पाण्डेले बताउनु भयो ।