INSEC Online

📅 २०८३ जेष्ठ २२

विपतमा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरू फर्काउने व्यवस्था गर्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र डा.मनोजकुमार शर्माको संयुक्त इजलासले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई फर्काउने व्यवस्था मिलाउन सरकारको नाममा चैत २५ गते आदेश जारी गरेको हो ।

स्वदेश फर्कन चाहने नेपाली नागरिकको लगत सङ्कलन गरी सम्बन्धित देशका कुटनीतिक निकायसँग समन्वय गरी नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न सरकारकालाई सर्वोच्चले आदेश दिएको छ ।

अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सम्भव नभए सम्बन्धित देशमै खाना, बस्न, उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

विदेशमा रहेका नेपालीको राहदानीको म्याद एवम् भिसा सकिएर कुनै समस्या आएको भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्ने व्यवस्था गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई खाने, बस्ने, उपचार लगायतमा समस्या भए त्यसको व्यवस्थासमेत गर्न सरकारको नाममा अदालतले आदेश दिएको छ ।

त्यसैगरी नेपाल–भारत सिमानामा अलपत्र परेका दुई हजार १ सय ४७ नागरिक नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न र फर्काउन सम्भव नभए लकडाउन अवधिसम्मका लागि खाने, बस्ने र उपचारको व्यवस्था गर्न समेत सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । क्वारेन्टाइनमा रहेकाहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य उपचार लगायतको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ ।

अन्य

भिडियो