अज्ञात समूहको गोली प्रहारबाट जलथल गाविस-३ की ३१ वर्षीया अनिता मेचेको मङ्सिर २७ गते मृत्यु भएको छ ।
घटना विवरण अनुसार जलथल-३ का चार जना महिलाहरू दाउरा खोज्नको लागि स्थानीय चारकोसे जङ्गलमा दिउँसो २ बजे गएकोमा एक्कासी मेचेको देब्रे कोखामा गोली लागेको थियो ।
गोली लागेर घाइते भएकी पीडित महिलालाई उपचारको लागि भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमा पुर्याएर उपचार गर्ने क्रममा केही समयपछि मृत्यु भएको थियो ।
घटनापछि गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेश थापाले वताएका छन् ।
मृतक महिलाको शवको पोष्टमार्टम मङ्सिर २७ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरेर मङ्सिर २८ गते परिवारले दाहसंस्कार गरेको एसपी थापाले वताएका छन् ।