सरकारले गरेको लकडाउनले भद्रपुरबाट काठमाण्डौ हवाई उडान नहुँदा कोरोना भाइरस सङ्क्रमणका शंकास्पद एक बिरामीको स्वाब परीक्षणका लागि टेकु, काठमाडौँ पठाउन समस्या भएको छ ।
कतारबाट फर्किएका गौरादह नगरपालिकाका एक बिरामीको मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा चैत ११ गते भर्ना भएका थिए ।
शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि एम्बुलेन्समा काठमाण्डौ पठाउनुको विकल्प नभएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमार्फत स्वाब टेकु पठाएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो । उहाँले धरानमा परीक्षणका प्रावधान नहुँदासम्म समस्या हुने बताउनुभयो ।
मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डक्टर पिताम्बर ठाकुरले स्वाब परीक्षणका लागि हवाई सेवाको प्रवन्ध नहुँदा समस्या भएको बताउनुभयो । उहाँले सरकारले धरानमा स्वाब परीक्षणको व्यवस्था गर्ने निर्णय गरेकाले केहीदिन पछि स्वाब परीक्षणमा समस्या नहुने बताउनुभयो ।