INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको संरक्षण गरी पाउँ भन्दै आयोगमा उजुरीमा दर्ता

सलार्हीको बागमती नपा–२ बस्ने ३५ वर्षीया लक्ष्मी पौडेलले आफु र आफ्नो परिवारमाथि सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय जनकपुरधाममा चैत ७ गते उजुरी दर्ता गराउनु भएको छ ।

सलार्हीको लालवन्दी नपा–१ लखन्देही खोला नजिक प्रहरीले नियन्त्रणमा लिएर प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सलार्ही जिल्ला इन्चार्ज कुमार पौडेलको ०७६ असार ५ गते हत्या गरिएको थियो । लक्ष्मी कुमारको दिदी हुनुहुन्छ।

पीडित लक्ष्मीका अनुसार आफुलाई विभिन्न अपरिचित व्यक्तिहरुले फोनबाट धम्की दिई परिवारलाई मानसिक यातना दिने कार्य निरन्तर आएकोमा मानव अधिकारको रक्षा गरि कानुनी उपचारको लागि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय जनकपुरमा उजुरी दर्ता गराएको पीडितकी दिदी लक्ष्मीले बताउनु भयो ।

इन्सेक प्रदेश २, राष्ट्रिय मानव अधिकार आयोग लगायतको मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भनि प्रतिवेदन सार्वजानिक गरि सकेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा हत्या घटनामा संलग्न आरोपित प्रहरीहरुलाई समेत कारवाही गर्न सरकारलाई निर्देशन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लगायतका संघ संस्थाले घटनाको स्थलगत अध्ययन अनुसन्धानको आधारमा ०७६ फागुन २३ गते जिल्ला प्रहरी कार्यालय सलार्हीमा दिएको जाहेरी दर्खास्त दर्ता नगरेको पीडित लक्ष्मीले गुनासो गर्नु भयो । जिल्ला प्रहरी कार्यालय सलार्हीमा दिएको जाहेरी दर्ता नभएपछि फागुन २४ गते हुलाक मार्फत उजुरी दर्ताका लागि पठाइएको जाहेरी समेत दर्ता नगरेको उहाले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका निर्देशक वीरबहादुर बुढामगरले आयोगले यस घटनामा गहन अध्ययन र अनुसन्धान गरि प्रतिवेदन सार्वजानिक गरि सकेको अवस्थामा पीडित परिवारले प्रहरी कार्यालयमा दिएको जाहेरी दर्ता नभएको र अपरिचित व्यक्तिहरुले फोनमा धाक धम्की दिँदै आएकाले शान्ति सुरक्षाको लागि पीडित परिवारको तर्फबाट आयोगमा उजुरी परेको बताउनु भयो । पीडित पक्षले आयोगमा उजुरी दर्ता गराएपछि यसबारेमा अनुसन्धान हुने आयोगका निर्देशक मगरले बताउनु भयो ।

अन्य

भिडियो