INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य चौकीमा जीवनजल समेत नहुदा बिरामीहरू मर्कामा

लिसङ्खु पाखर गाउँपालिका–७ स्थित डाँडाँपाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अत्यावश्यक पर्ने औषधि जीवनजल समेत नहुदा स्वास्थ्य चौकीमा आउने बिरामीहरू मर्कामा परेका छन् ।

पखाला लागेर बिरामी भई डाँडाँपाखर स्वास्थ्य चौकी आएकी लिसङ्खु पाखर गाउँपालिका–७ की अन्जु लामाले जीवनजल औषधि समेत नपाएर आफु रित्तो हात घर फर्केको बताउनु भयो । लिसङ्खु पाखर गाउँपालिका–७ का ५४ वर्षीय रामजी तामाङले पनि झाडापाखाला लागेर स्वास्थ्य चौकी गएका बेला आफूले जीवनजल समेत नपाएको सुनाउनु भयो ।

बिरामीहरूको चापलाई भन्दापनि पालिकाको सबै वडाका स्वास्थ्य चौकीहरूलाई समानुपातिक रुपले गाउँपालिकाले औषधि वितरण गरेका कारण औषधिको अभाव भएको डाँडाँपाखर स्वास्थ्य चौकीका इन्चार्ज अहेव लक्ष्मीकान्त बजगाईंले बताउनु भयो ।

जनसङ्ख्याको हिसावले अरु वडाभन्दा ठूलो भएको र बिरामीको चाप बढी हुने गरेकोले औषधि नपुग भएको अहेव बजगाईंकोे भनाइ छ  । गर्मीयाम शुरु भएसँगै मौसमी फ्लु तथा झाडापखालाका बिरामी धेरै आउने भएकाले जुकाको औषधि पनि अभाव भएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सानुदेवी जिरेलले बताउनु भयो । तर,स्वास्थ्य चौकीका इन्र्चाजले समयमा औषधि माग नगरेका कारण औषधिको अभाव भएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनु भयो । ‘यो अभावलाई तत्काल पूर्ति गरिने छ’ पालिका अध्यक्ष नेपालले भन्नुभयो ।

अन्य

भिडियो