चौतारा कारागारका बन्दी तथा थुनुवाहरूलाई औषधिको अभाव भएको छ । ८३ जना कैदी र ५१ जना थुनुवा गरी १ सय ३४ जना कैदीबन्दी रहेको यस कारागारमा औषधिको अभाव भएपछि स्वास्थ्य उपचारमा समस्या भएको निमित्त जेलर खोपनाथ नेपालले बताउनु भयो ।
कारागारका बन्दीहरूमा पाँच जना सुगर र प्रेसरका रोगीहरू छन् । उनीहरूले दैनिक सेवन गर्ने औषधि नभएको कारागारका नाइके रमेश लामाले बताउनु भयो । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि यस जेलमा स्वास्थ्यकर्मीको व्यवस्था नभएको निमित्त जेलर नेपालले बताउनु भयो ।
‘जेल भित्र धेरैजसो औषधिको अभाव छ’ जेलर नेपालले भन्नुभयो ‘सामान्य बिरामी भएकाहरूलाई पनि औषधिको व्यवस्था गर्न सकिएको छैन ।’
गत वर्षहरूमा जिल्ला स्वास्थ्य कार्यालयबाट केही औषधि जेलका बन्दीहरूलाई सहयोग आउने गरेकोमा यस वर्षको शुरुदेखि जिल्ला स्वास्थ्य कार्यालयको औषधि खरिद गर्ने बजेट गाउँपालिका र नगरपालिकामा पुगेकोले औषधिको सहयोग गर्न समेत कटौती भएको जेलर नेपालले बताउनु भयो ।