INSEC Online

📅 २०८३ जेष्ठ २२

कम्प्यूटर कक्षा प्रभावकारी नहुँदा परीक्षा दिन समस्या भएको गुनासो

सिद्व कुमाख गाउँपालिकामा–२ स्थित देउराली माविमा कक्षा आठमा अध्यनरत विद्यार्थी हिरा चलाउनेले विद्यालयमा कम्प्यूटर कक्षा अनिवार्य भएको अवस्थामा विद्यालयमा प्रयाप्त कम्प्यूटर नहुँदा पठनपाठनमा समस्या भएको गुनासो गर्नु भयो ।

विद्यालयमा भएका कम्प्यूटर बिग्रिएर थन्किएका छन्, उहाँले भन्नु भयो, किताबमा मात्रै पढ्दा के पढ्यो पढ्यो केही थाहा हुदैन । हाल संचालनमा रहेको एक मात्र कम्प्यूटरमा समूह बनाएर पढ्नु पर्ने भएकाले अधिकाश विद्यार्थीले कम्प्यूटर छुन समेत नपाउने गरेको अर्का छात्रा दिपा बुढाथोकीको गुनासो छ ।

यस विद्यालयमा कक्षा आठमा अध्यनरत २२ जना विद्यार्थीले एउटा मात्र कम्प्यूटरको भरमा परीक्षा दिनु पर्ने बाध्यता रहेको छ । विद्यालय प्रशासनले भने विद्यालयमा रहेका कम्प्यूटर बिग्रिएपछि समस्या आएको जनाएको छ ।
यस विद्यालयमा कम्प्यूटर चलाउन जान्ने लेखापाल जनक चलाउनेले करिब एक वर्षसम्म विद्यार्थीलाई सामान्य कम्प्यूटर सिकाउनु हुन्थ्यो । अहिले कम्प्यूटरले काम गर्न छोडेपछि एउटा कार्यालय प्रयोजनका लागि राखिएको कम्प्यूटरबाट नै विद्यार्थीलाई सिकाउने गरेको लेखापाल चलाउनेको भनाई छ ।

विद्यालयमा कम्प्यूटर अभावमा प्रयोगात्मक कक्षा संचालन गर्न समस्या भएको लेखापाल चलाउनेले जानकारी दिनु भयो । ‘सैद्धान्तिक विषय किताबबाट पढाउँछौं, उहाँले भन्नु भयो, प्रयोगात्मक कक्षा समूहमा गराउछौं, यसरी एउटामात्र कम्प्यूटरमा सबैले पालो पनि पाउँदैनन् ।’

सरकारले कक्षा ६ देखि ८ सम्म १ सय पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रुपमा पाठ्यभार पाँच छुट्याएको छ । यसै अन्तरगत सल्यान जिल्लामा रहेका सबै विद्यालयले कक्षा ६ देखि आठसम्म १ सय पूर्णाङ्कको ऐच्छिक विषयमा कम्प्यूटर विषय राखेका छन् ।

कम्प्यूटर कक्षा अनिवार्य भएपछि जिल्लाका करिब दुई सय विद्यालयका अधिकांश विद्यार्थीले गुणस्तरीय कम्प्यूटर कक्षाबाट वन्चित भएका छन् ।

पाठ्यक्रम अनुसार कम्प्यूटर विषयको परीक्षा बनाउँदा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक बनाउनुपर्ने व्यवस्था छ । कम्प्यूटर प्राविधिक विषय भएकाले कम्प्यूटर विषयको पढाई हुँदा कम्प्यूटर हुनुपर्ने विद्यार्थीहरूको भनाई छ । जिल्लामा १ देखि ८ कक्षा चलेका १ सय ५० विद्यालय छन् भने माध्यमिक विद्यालय करिब १ सय ओटा छन् ।

तर कम्प्यूटर पढाउने विद्यालयमध्ये माध्यमिक विद्यालय संचालन भएका विद्यालयका अधिकांश विद्यार्थीहरूले कम्प्यूटर देखेकै छैनन् । २०७० सालदेखि आफूहरूले विद्यालयमा कम्प्यूटर विषय पढाउन थालेको कुमाख गाउँपालिकाको आधारभुत विद्यालय विर्केनेटी जिमालीका प्रद्यानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताउनु भयो ।

आधारभुत तहको शिक्षासम्वन्धि अधिकांश जिम्मेवारी स्थानीय तहमा रहेको अवस्थामा त्रिवेणी गाउँपालिका बाहेक अन्य स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गरी लागु गर्न सकेका छैनन् ।

यसका लागि स्थानीय तहले अगुवाई गरी स्थानीय विषयको पाठ्यक्रम तय गरेर लागु गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लाल बहादुर घर्तीले सुझाव दिनु भयो । विद्यालयहरूले पूर्वाधार विना कम्प्यूटर विषय पठाउनु गलत भएको उहाँको भनाई छ ।

राम्रो गर्ने विद्यालयलाई आफै अगुवाई गर्न दिनुपर्ने र स्थानीय तहले पनि नितीगत रुपमा यसबारे अगुवाई लिनुपर्ने उहाँले बताउनु भयो । विद्यार्थीले त कम्प्यूटर कक्षा प्रभावकारी ढङ्गले पढ्न पाएका छैनन तर शिक्षकले पनि तालिम विना हचुवाको भरका सिकाइरहेको विद्यालयले गुनासो गरेका छन् ।

जिल्लाका माध्यमिक तहका विद्यालयमा सोलार र कम्प्यूटर छन् तर धेरै विद्यालयमा ती प्रयोग विहीन छन् । माध्यमिक तहमा कम्प्यूटर भएका विद्यालयमा समेत प्रयोगात्मक पढाई नहुने विद्यार्थीको गुनासो छ ।
Photo20200317Kalikot (1) Photo20200317Kalikot (2)

अन्य

भिडियो